काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र देशमा फैलिएर गएको भ्रष्टाचारविरुद्ध नयाँ पुस्ता (जेनजेड) ले सुरु गरेको आन्दोलनलाई सत्तारूढ नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का नेताहरूले आलोचनात्मक समर्थन जनाएका थिए। तर, पार्टी नेतृत्वकै दबाबका कारण उनीहरू खुलेर आन्दोलनको पक्षमा उभिन सकेका थिएनन्।

तर, जेनजेडको प्रदर्शनमा भएको प्रहरी दमनबाट अकल्पनीय मानवीय क्षति भएपछि अनेरास्ववियुका धेरै विद्यार्थी नेताहरूले संगठन र पार्टी सदस्यता त्याग्ने घोषणा गरेका छन्। सोमबारको घटनामा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि सरकारविरुद्ध चौतर्फी आलोचना र विरोध चर्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको थियो, जसमा गृहमन्त्री लेखकले राजीनामा गरिसकेका छन्।

advertisement

एमाले नेतृत्व सरकारकै कारण पहिलो पटक सडकमा उत्रिएका जेनजेड पुस्ताका १९ युवाले ज्यान गुमाउनुका साथै सयौं घाइते भएपछि घटनाप्रति तीव्र निन्दा भइरहेको छ। आन्दोलनमा अनेरास्ववियुका नेताहरू प्रत्यक्ष रूपमा खासै सक्रिय देखिएका थिएनन्, तर दमनपछि भने उनीहरू पार्टीप्रति असन्तुष्टि प्रकट गर्दै सामूहिक रूपमा सदस्यता त्याग्न थालेका छन्।

अनेरास्ववियुकी निवर्तमान विदेश विभाग प्रमुख स्मृति बरालले सामाजिक सञ्जालमार्फत एमाले र संगठनका सबै पद छाडेको घोषणा गरेकी छन्। उनले सोमबारको घटना दमन मात्र नभई ‘शासकको दम्भको खुला प्रदर्शन’ भएको बताउँदै अबदेखि केवल देशको झण्डामुनि विद्यार्थी आन्दोलनमा सक्रिय हुने घोषणा गरेकी छन्। बरालका अनुसार, अनेरास्ववियु आफ्नो अस्तित्व जोगाउन असफल भएको छ।

यस्तै, २०७१ सालमा एमालेको संगठित सदस्य बनेका गण्डकी प्रदेश सह–संयोजक विश्वदर्शन पराजुलीले पनि फेसबुकमार्फत पार्टी र संगठन दुवै छाडेको घोषणा गरेका छन्। उनले आफ्नै पार्टीले युवामाथि घात गरेको भन्दै अनेरास्ववियुमा रहेका सबै जिम्मेवारीबाट राजीनामा दिएको स्पष्ट पारेका छन्।

पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसका सचिव तथा जनसाहित्यिक संघ गण्डकीका सहसचिव निकेश गिरीले पनि अनेरास्ववियु छाडेको घोषणा गरेका छन्। उनले सरकारको दमनको विरोध गर्दै जेनजेड आन्दोलनलाई खुलेर समर्थन जनाएका छन्। गिरीका अनुसार, अनेरास्ववियु अब पहिले जस्तो गौरवशाली संगठन रहेन।

यद्यपि, संगठनमै रहेका केही नेताहरूले सोमबारको घटनाप्रति विरोध जनाउँदै दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोधमा सुरु भएको जेनजेडको आन्दोलनमा सोमबार मात्र १९ जनाको ज्यान गएको छ भने सयौं घाइते भएका छन्। देशभरका प्रमुख सहरहरू तनावग्रस्त बनेका छन् भने प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार भएको छ।

 

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com