काठमाडौं । भारतले नेपालमा हाल देखिएको राजनीतिक तथा सामाजिक परिस्थितिप्रति गहिरो चासो व्यक्त गरेको छ । मंगलबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जेन–जी आन्दोलनका क्रममा निर्दोष युवाहरूले ज्यान गुमाउनुपरेको घटनाप्रति दुःख प्रकट गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपालमा हिजोदेखि देखिएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ । असंख्य युवा जीवनको क्षतिबाट हामी अत्यन्त दुःखी भएका छौँ । मृतक परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’
भारतले नेपालसँगको ऐतिहासिक मित्रता र छिमेकीको नातालाई स्मरण गर्दै संयमित रहन र उत्पन्न समस्या शान्तिपूर्ण संवादमार्फत समाधान गर्न सबै पक्षलाई आग्रह गरेको छ ।
त्यसैगरी, काठमाडौंसहित विभिन्न सहरमा कर्फ्यू आदेश जारी भएको भन्दै नेपालमा रहेका भारतीय नागरिकलाई सतर्क रहन र स्थानीय प्रशासनका निर्देशनअनुसार चल्न अनुरोध गरिएको छ ।
सामाजिक सञ्जाल प्रतिबन्ध र शासकीय अव्यवस्थाविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलनमा प्रहरीले दमन गर्दा हालसम्म १९ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन् ।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया