काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जेन–जी पुस्ताले सुरु गरेको आन्दोलनमा भएका मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

पूर्वराजा शाहको संवाद सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ कि जेन–जी युवाहरू देश र समाजको हितका लागि सकारात्मक परिवर्तनको उद्देश्य राखेर अघि बढेका हुन्। काठमाडौँसहित देशभर प्रदर्शनमार्फत पोखिएको उनीहरूको आक्रोश आम जनताको ध्यानाकर्षणको विषय बनेको सचिवालयले जनाएको छ।

advertisement

विज्ञप्तिमा उल्लेख छ, ‘युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी निर्दोष नागरिकको ज्यान लिनु र सयौंलाई घाइते पार्नु अत्यन्त दुःखद् र निन्दनीय कार्य हो। यस्तो घटना शान्तिप्रेमी नेपाली समाजको मूल्य र मान्यतासँग मेल खाँदैन।’

पूर्वराजा शाह र पूर्वराजपरिवारका सदस्यहरूले मृतक युवाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

साथै, विज्ञप्तिमा यस आन्दोलन हिंसात्मक नबनोस्, अराजक नहोस् र यसमा कुनै बाह्य हस्तक्षेप नहोस् भन्ने पूर्वराजाको आग्रह पनि उल्लेख गरिएको छ।

सन्देशमा उल्लेख छ कि देशभित्र उठेका सुशासन र आर्थिक असन्तुलनका विषयलाई ध्यानमा राख्दै समस्याहरूको समाधान शान्तिपूर्ण ढंगले निकाल्नुपर्ने आवश्यकता छ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com