काठमाडौं । नेपाली सेनाले मुलुकको विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सबैलाई संयमता अपनाउन आग्रह गरेको छ।
मंगलबार साँझ जारी गरिएको विज्ञप्तिमा सेनाले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई जोगाउँदै शान्तिपूर्ण ढंगले अघि बढ्न युवासहित सम्पूर्ण नागरिकमा अपिल गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको अवस्थालाई अझ जटिल हुन नदिन नेपाली सेना सम्पूर्ण युवा शक्तिसहित देशवासीहरूमा संयमता अपनाउन हार्दिक अनुरोध गर्दछ।’
त्यस्तै, सेनाले नेपाल र नेपाली जनताको ज्यान–धनको सुरक्षाप्रति आफ्नो अटल प्रतिबद्धता दोहोर्याउँदै ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्ति जोगाउनु सबैको साझा दायित्व भएको पनि स्पष्ट पारेको छ।
सेनाले जारी विज्ञप्तिमा जेन–जी आन्दोलनसँग सम्बन्धित पछिल्ला घटनाक्रमलाई पनि नजिकबाट विश्लेषण गरिरहेको उल्लेख गरेको छ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया