काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जेड आन्दोलनकारीलाई संवेदनशील भएर अघि बढ्न आग्रह गर्दै उनीहरूले अघि सारेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव उपयुक्त र सकारात्मक भएको टिप्पणी गरेका छन्।
शुक्रबार जारी विज्ञप्तिमा भट्टराईले कार्कीको नेतृत्वमा बन्ने अन्तरिम सरकारलाई सबै पक्षले सहयोग गर्नुपर्ने उल्लेख गरेका छन्। ‘नयाँ नेपालको नेतृत्व गर्न उद्यत जेन–जेडका युवाहरूले अन्तरिम सरकार प्रमुखका रूपमा सक्षम र स्वच्छ व्यक्तित्व सुशीला कार्कीलाई सिफारिस गर्नु निकै सकारात्मक निर्णय हो,’ उनले लेखेका छन्, ‘उहाँलाई सम्पूर्ण देशले साथ दिनुपर्छ। हाम्रो तर्फबाट पनि उहाँलाई पूर्ण समर्थन र अग्रिम बधाइ।’
उनले निर्णय प्रक्रियामा संविधानसम्मत र लोकतान्त्रिक बाटो रोज्न सुझाव दिँदै संविधानविद् र विशेषज्ञहरूको सल्लाहअनुसार अघि बढ्न आवश्यक रहेको बताए। ‘राष्ट्रपतिले संविधानको जगमा उभिएर कार्कीलाई विधिवत् शपथ दिलाई अन्योल र आशंका चाँडै अन्त्य गर्नुपर्छ,’ भट्टराईले उल्लेख गरेका छन्।
साथै उनले सन् २०१३ (२०६९ साल) मा तत्कालीन अन्तरिम संविधानको प्रावधानअनुसार खिलराज रेग्मीलाई नियुक्त गरिएको नजीर अहिले लागू नहुने प्रस्ट पारे। ‘त्यतिबेला अन्तरिम संविधानमै राजनीतिक सहमतिको आधारमा निर्णय गर्न सकिने व्यवस्था थियो र राजनीतिक सहमति भन्नाले सात दल र माओवादीबीचको सहमति बुझिने भनेर स्पष्ट व्याख्या गरिएको थियो,’ उनले स्मरण गरे।
भट्टराईले हालको संविधानप्रति जेन–जेड आन्दोलनकारीले विशेष संवेदनशील हुनुपर्ने सुझाव पनि दिए। ‘यो निर्वाचित संविधानसभाबाट बनेको नेपालको पहिलो स्थायी संविधान हो। ठूलो बलिदानपछि बनेको यस संविधानको जगमै टेकेर अघि बढ्नु जेन–जेड पुस्ताको दीर्घकालीन हितमा हुनेछ,’ भट्टराईले भने।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया