काठमाडौँ । युनाइटेड अरब इमिरेट्स यूएईले एसिया कप क्रिकेटको सुपर फोरमा पुग्ने आशालाई जीवितै राखेको छ।

पहिलो खेलमा भारतसँग ९ विकेटले पराजित यूएईले सोमबार अबुधावीमा भएको आफ्नो दोस्रो खेलमा ओमानलाई ४२ रनले पराजित गरेको हो।

advertisement

यूएईले बुधबार पाकिस्तानसँग लिगको अन्तिम खेल्नेछ र विजेता टोली समूह ‘ए’ बाट सुपर फोरमा पुग्नेछ।

यही खेलको विजेता टोलीले आइतबार पुनः भारतसँग खेल्नेछ। ओमानमाथि यूएईको जितले भारतको पनि औपचारिक रूपमा सुपर फोरमा निश्चित भएको हो।

पहिलो दुई खेल जितेको भारतले शुक्रबार ओमानसँग लिगको अन्तिम खेल खेल्नेछ।

अलिसन सराफु र मोहम्मद वसिमले ११ ओभरभित्र पहिलो विकेटमा ८८ रनको साझेदारी गरेपछि पहिलो ब्याटिङ गर्न निम्त्याइएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ७२ रन बनाएको थियो।

सराफुले ३८ बल खेल्दै ७ चौका र १ छक्कासहित ५१ र वसिमले ५४ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गर्दै ६९ रन बनाए। जबाफमा आएको ओमान १८ दशमलव ४ ओभरमा १ सय ३० रनमा अलआउट भयो।

ओमानका लागि आर्यन विष्टले २४ तथा कप्तान जतिन्दर सिंह र विनायक शुक्लाले समान २० रन बनाए। ​ यूएईबाट जुनैद सिद्दिकीले ४ ओभरमा २३ रन खर्चेर ४ तथा हैदर अली र मोहम्मद जवादुल्लाहले २–२ विकेट लिएका थिए।

गएराति नै भएको अर्को खेलमा श्रीलंकाले हङकङलाई चार विकेटले हराएको छ। लिगमा दुई खेल जितेको श्रीलंका समूह बीको शीर्षस्थानमा छ। तीन खेल हारेको हङकङ अंकविहीन छ।

प्रतियोगिता अन्तरगत आज यही समूहका अफगानिस्तान र बंगलादेश भिडने छन्।

 

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com