काठमाडौं । जेन-जी आन्दोलनका क्रममा भएको आगलागीमा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्र (आइसियु)मा जलन उपचार विशेषज्ञ टोलीले उनको उपचार गरिरहेको छ।

अस्पतालका जलन विशेषज्ञ डा. कीरण नकर्मीका अनुसार, “अस्पतालमा भर्ना हुँदा भन्दा स्वास्थ्य अवस्था सुधारिएको छ। आज देब्रे हातको शल्यक्रिया गरिनेछ र त्यसपछि उपचार प्रक्रिया अघि बढाइनेछ।”

advertisement

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री खनालले पनि पत्नीको फोक्सो र देब्रे हातमा गम्भीर असर परेको जानकारी दिएका छन्। उनका अनुसार, आगलागीमा हानिकारक ग्यासले फोक्सोमा समस्या उत्पन्न गरेको छ र देब्रे हातमा गम्भीर जलन भएको छ। फोक्सोमा ग्यास भरिएका कारण शल्यक्रियाको अघि सामान्य ‘एनेस्थेसिया’ (बेहोस पार्ने) विधि प्रयोग गर्न समस्या देखिएको उनले बताए।

खनालले यस घटनालाई योजनाबद्ध र आपराधिक कार्य भएको भन्दै निन्दा गरेका छन्। उनले स्वदेशी तथा विदेशी केही सञ्चारमाध्यमले त्रुटिपूर्ण समाचार सम्प्रेषण गरेकोमा दुःख व्यक्त गर्दै, घटनामा संलग्न व्यक्तिहरूलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।

पूर्वप्रधानमन्त्री खनालले तोडफोड, आगजनी र लुटपाटको प्रमाण संकलन भइरहेको जानकारी दिएका छन् र प्राप्त प्रमाण छिट्टै सार्वजनिक गरिने पनि बताएका छन्।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com