काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालै काठमाडौंमा भएको जेन–जेड आन्दोलनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको दाबी गरेका छन्।

भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्दको विरोधमा जेन–जेडले देशव्यापी प्रदर्शन गरेको थियो। भदौ २३ गते काठमाडौंमा मात्र १७ जनाको मृत्यु भएको थियो। त्यतिबेला ओली प्रधानमन्त्री थिए।

advertisement

घटनापछि ११ दिनमा शुक्रबार विज्ञप्ति जारी गर्दै ओलीले भने, “सरकारले प्रदर्शनकारीलाई ताकेताकी गोली हान्ने आदेश दिएको थिएन। तर प्रहरीसँग नभएका स्वचालित हतियारले गोली चलाइएको छ, यसको छानबिन हुनुपर्छ।’

तर उनले सो दाबीका आधार र प्रमाणबारे कुनै विवरण सार्वजनिक गरेका छैनन्। सुरक्षाकर्मीहरूले पनि स्वचालित हतियार प्रयोग भएको भन्ने कुरा अहिलेसम्म स्वीकृत गरेका छैनन्।

ओलीले त्यसबेला आन्दोलनकारीमाथि गोली चलाउने आदेश आफूबाट नभएको प्रस्ट पारेका छन्। भदौ २४ गते उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सिंहदरबारदेखि संसद भवन र पार्टी नेताकार्यकर्ताका घरमा आगजनी भएको उनको आरोप छ। बालकोटस्थित आफ्नै निवासमा समेत आगजनी भएपछि उनी भक्तपुरको गुण्डुमा घर भाडामा लिएर बस्न थालेका छन्।

प्रधानमन्त्री पदबाट हटेपछि ओली नेपाली सेनाको सुरक्षामा रहेका थिए। बिहीबार मात्र उनी सेनाको सुरक्षा घेराबाट बाहिरिएका हुन्।

यसैबीच, संविधान दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा भने ओली सहभागी भएनन्।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com