काठमाडौं । निर्वाचन आयोगका उच्च अधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था सुनिश्चित गर्न आग्रह गरेका छन्।

मंगलबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर कार्कीसँग भेटवार्ता गरेका थिए।

advertisement

भेटमा आयुक्त भण्डारीले सरकारले निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था उपलब्ध गराउनेमा पूर्ण सहकार्य गर्ने विश्वास व्यक्त गरेका थिए। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार भण्डारीले ‘नेपाल सरकारका तर्फबाट भरपर्दो सुरक्षा प्रबन्ध मिलाइनेछ र निर्वाचनमा राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यमलगायत सबै सरोकारवालाको सक्रिय सहयोग प्राप्त हुनेमा विश्वास छ’ भन्ने बताए।

आयुक्त भण्डारीले फागुन २१ को निर्वाचनका लागि आवश्यक मतपत्र तथा अन्य सामग्री पर्याप्त मात्रामा उपलब्ध रहेको र बाँकी आवश्यक सामग्री स्वदेशमै उत्पादन गरिने प्राथमिकता रहने पनि जानकारी दिएका थिए। साथै, खरिद प्रक्रिया प्रतिस्पर्धात्मक र पारदर्शी तरिकाले सञ्चालन हुने र राजनीतिक दल तथा सरोकारवालासँग समन्वय कायम रहने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री कार्कीले निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न हुने उच्च प्राथमिकता रहेको बताउँदै, ‘सरकारको तर्फबाट निर्वाचन आयोगलाई आवश्यक स्रोत, जनशक्ति र शान्ति–सुरक्षाका साधन उपलब्ध गराइनेछ। निर्वाचनका लागि अनुकूल वातावरण तयार गर्न सबै सरोकारवालासँग छलफल गरिनेछ’ भनेकी थिइन्।

यसरी प्रधानमन्त्रीसँगको भेटमा आयोगलाई आगामी निर्वाचन तयारी तुरुन्त अघि बढाउन आग्रह गरिएको छ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com