काठमाडौं । दसैँको आगमनसँगै राजधानीवासी गाउँ फर्किनेको लहर तीव्र बनेको छ । घटस्थापनादेखि अहिलेसम्म मात्र काठमाडौँ उपत्यकाबाट पाँच लाख ५३ हजारभन्दा बढी मानिस विभिन्न गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका तथ्याङ्कअनुसार असोज ६ गते घटस्थापना सुरू भएको दिनदेखि आजसम्म ५,५३,२६१ यात्रु विभिन्न नाकाबाट बाहिरिएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८५ हजार २८४ जना राजधानी छाडेका छन् ।

advertisement

यात्रुको भीड बढेसँगै सहज आवागमनका लागि ट्राफिक प्रहरीले प्रमुख नाका र पार्किङस्थलमा अतिरिक्त प्रहरी परिचालन गरेको छ । कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार सहायता कक्ष, अनुगमन टोली तथा आपतकालीन उद्धार टोली सक्रिय छन् र ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएका छन् । साथै लामो दूरीका चालकलाई मादक पदार्थ सेवन नगर्न, गति नियन्त्रणमा राख्न र सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्न आग्रह गरिएको छ ।

पछिल्लो २४ घण्टामा मात्र १७ हजार दुई सवारीसाधन उपत्यकाबाट बाहिरिएको प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । घटस्थापनादेखि आजसम्म उपत्यकाबाट बाहिरिएका सवारीसाधनको सङ्ख्या एक लाख ८९ हजार पुगेको छ । यीमार्फत पूर्व, पश्चिम र सुदूरपश्चिमका जिल्लातर्फ यात्रु प्रस्थान गरिरहेका छन् ।

यसबीच राजधानी भित्रिने चाप पनि देखिएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार हालसम्म ७२ हजार ४१ सवारीसाधनमार्फत दुई लाख ८५ हजार ३०८ जना उपत्यकामा प्रवेश गरेका छन् । कोटेश्वर, कलङ्की, बल्खु, नयाँबसपार्क र जगतीजस्ता नाकामा यात्रुको भीड देखिएको छ ।

यात्रुको मुख्य आधार सार्वजनिक सवारी भए पनि निजी गाडी र पर्यटक बस प्रयोग गर्नेहरूको संख्या पनि उल्लेख्य छ । गाउँतिर पारिवारिक जमघट, दुर्गा पूजाको तयारी र टीकाको वातावरण तात्दै गर्दा काठमाडौँ भने सडक चहलपहल कम भई तुलनात्मक रूपमा शान्त देखिन थालेको छ ।

प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com