काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी आन्दोलन’को जगमा बनेको वर्तमान सरकारको प्रमुख लक्ष्य तोकिएको समयसीमाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु रहेको स्पष्ट पारेका छन्।
राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको आजको अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दल र नागरिकसँग सहयोगको आग्रह गरे।
उनका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारले निर्वाचनको तयारी र वातावरण निर्माणका लागि आवश्यक सबै प्रक्रिया अघि बढाइसकेको छ। ‘सरकार निर्वाचनप्रति गम्भीर छ। यो सरकार जेनजी आन्दोलनको जग, राजनीतिक दलहरू र जनताको साझा चाहनाबाट बनेको हो,’मन्त्री खरेलले भने, ‘निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ, अब सबैको साझा जिम्मेवारी भनेको निर्वाचनलाई सफल बनाउनु हो।’
सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले निर्वाचनका साथै सुशासन स्थापन, भ्रष्टाचार नियन्त्रण, जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिमाथि छानबिन र कारबाही तथा प्राकृतिक विपद् प्रभावित क्षेत्रको पुनःस्थापनालाई पनि सरकारको प्रमुख कार्यसूचीका रूपमा उल्लेख गरे।
उनले राससजस्ता सञ्चार संस्थाहरूले निर्वाचनको वातावरण निर्माण र जनचेतना अभिवृद्धिमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्दै भने, ‘राससले सत्य, सन्तुलित र जिम्मेवार सूचना प्रवाह गरेर लोकतान्त्रिक प्रक्रियालाई सुदृढ गर्न सक्छ।’
मन्त्री खरेलले आसन्न निर्वाचनका सन्दर्भमा सरकार राजनीतिक दलहरूसँग निरन्तर संवादमा रहेको जानकारी दिँदै सबै पक्षको सहकार्यबाट निष्पक्ष र सफल निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार













प्रतिक्रिया