काठमाडाैं । कोशी प्रदेश सरकारले हालैको बाढी र पहिरोले भत्काएका तथा बगाएका सबै घर पुनर्निर्माण गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले प्रभावित सबै परिवारका घर निर्माण गर्ने निर्णय गरेको हो। प्रदेश सरकारले विशेषगरी सबैभन्दा बढी क्षति पुगेका इलाम, झापा र मोरङ जिल्लाका घर पुनर्निर्माण कार्य तुरुन्त सुरु गर्ने तयारी गरेको छ। बैठकले घरहरूको विस्तृत विवरण संकलनसँगै निर्माण कार्य अगाडि बढाउने निर्णय पनि गरेको छ।

advertisement

त्यस्तै, इलाम जिल्लाका सातवटा पालिकालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न संघीय सरकारमा सिफारिस गर्ने निर्णय भएको छ। राहत र पुनर्निर्माण कार्यको समन्वयका लागि आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीलाई इलाममा जिम्मेवारी तोकिएको छ। उनीहरूले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउनेछन्।

सुनसरी जिल्लामा समन्वय कार्य वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र मन्त्री भण्डारीले संयुक्त रूपमा गर्नेछन् भने झापा जिल्लामा पुनर्निर्माण तथा समन्वय जिम्मेवारी खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई दिइएको छ।

बैठकले चालु बजेटका खर्च र योजनाहरूको पुनरावलोकन गरी आवश्यक परेमा कटौती गरेर पुनर्निर्माण कार्यमा विनियोजन गर्ने सिफारिस पनि गरेको छ। साथै, भौतिक पूर्वाधार मन्त्रालयलाई अवरुद्ध सडकहरू तत्काल खोल्नका लागि सबै साधन-संसाधन परिचालन गर्न निर्देशन दिइएको छ।

मुख्यमन्त्री कार्कीले राहत र पुनर्निर्माण कार्यमा कुनै कसर बाँकी नराखी तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्। उनले प्रदेशका नागरिक, उद्योगी–व्यवसायी, राजनीतिक दल, बैंक तथा वित्तीय संस्था र कर्मचारी सबैलाई सहकार्यका लागि आह्वान गर्ने पनि बैठकले निर्णय गरेको छ।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com