काठमाडाैं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । बैठकको अध्यक्षता महामन्त्री गगन थापाले गरेका हुन् ।
बैठकमा देशभर जारी क्रियाशील सदस्यता नवीकरण कार्यको प्रगतिबारे समीक्षा गर्दै, आगजनीका कारण प्रभावित जिल्लाहरूमा सदस्यता विवरणको अवस्था र अभिलेखीकरणका चुनौतीबारे विस्तृत छलफल भएको समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए ।
उनका अनुसार भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले कांग्रेसका ४८ वटा पार्टी कार्यालयमा आगजनी गरेका थिए । ती घटनामा केन्द्रीय कार्यालयसहितका थुप्रै स्थानमा क्रियाशील सदस्यता नामावली तथा कम्प्युटरमा संकलित अभिलेख नष्ट भएका थिए ।
‘कतिपय जिल्लामा अभिलेख पूरै जलेका छन्, कतै अंशतः क्षति पुगेको छ,’ रसाइलीले भने, ‘यी सबै विवरण संकलन गरी असोज २६ देखि बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने निर्णय बैठकले गरेको छ ।’
आगजनीका कारण केही जिल्लामा क्रियाशील सदस्यता नवीकरण कार्य प्रभावित भए पनि अधिकांश स्थानमा काम पुनः सुचारु भइसकेको समितिले जनाएको छ ।
नेपाली कांग्रेसले असोज मसान्तसम्मका लागि क्रियाशील सदस्यता नवीकरणको समय सीमा निर्धारण गरेको छ । हालसम्म देशभर करिब ६० प्रतिशतभन्दा बढी सदस्यले आफ्नो सदस्यता नवीकरण गराइसकेका छन् ।
यता पार्टीभित्र नियमित वा विशेष महाधिवेशन गर्ने विषयमा पनि बहस तीव्र बनेको छ । नियमित महाधिवेशन गर्ने भए नयाँ क्रियाशील सदस्यता टुंग्याउनु पर्ने हुन्छ भने, विशेष महाधिवेशन गर्ने निर्णय भए २०७८ मंसिरमा सम्पन्न १४औं महाधिवेशनका प्रतिनिधिहरू नै मतदाता हुनेछन् ।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार












प्रतिक्रिया