काठमाडौं । कास्कीको लिचीबारी जग्गा प्रकरणमा ३२ लाख रुपैयाँ घुस लिएको आरोप लागेका तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान सुरु गर्ने भएको छ।
विशेष अदालत काठमाडौंमा दर्ता भएको मुद्दा नम्बर ०७४–cr–०१६७ को आदेशअनुसार अधिकारीमाथि छुट्टै अनुसन्धान अघि बढाउने निर्णय गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
यसअघि सोही प्रकरणमा संलग्न दुई पूर्वमन्त्री—राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठ—विरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरिएको थियो।
प्रवक्ता पौडेलका अनुसार फरक समय, फरक प्रकृति र फरक निर्णयकर्तासँग सम्बन्धित घटनाहरू भएकाले बलराम अधिकारीको मुद्दा छुट्टै अनुसन्धानमार्फत अघि बढाइने भएको हो।
उनका भनाइमा, तत्कालीन मन्त्री अधिकारी र बिचौलिया सुजनकुमार तामाङबीच भएको संवादमा ३२ लाख रुपैयाँ घुस लिएको अडियो प्रमाणसहित उजागर भएको छ। साथै, सुजन तामाङसँग तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेलले ५ लाख रुपैयाँ, १० हजार रुपैयाँ बराबरको मदिरा र दुईवटा कुखुरा उपहारका रूपमा लिएको आरोप पनि छ।
अख्तियारले यी घटनाहरू फरक समयमा र फरक प्रकृतिका भएकाले अलग मिसिल बनाएर अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अघि बढाउने तयारी गरेको छ।
‘अख्तियारले आवश्यकता अनुसार मुद्दा टुक्र्याएर अलग–अलग रूपमा अनुसन्धान गर्न सक्छ, त्यसैअनुसार यो मामिलामा पनि अघि बढिरहेका छौं,’ प्रवक्ता पौडेलले स्पष्ट पारे।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार












प्रतिक्रिया