काठमाडौं । नेकपा (एमाले)का नेता महेश बर्तौलाले जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियारहरूको अवस्थाबारेअहिलेका गृहमन्त्री ओमप्रकाश अर्याल पूर्ण रूपमा जानकार रहेको दाबी गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा प्रकाशित स्टाटसमार्फत उनले गृहमन्त्री अर्यालमाथि आन्दोलनमा घुसपैठ गराई हिंसा भड्काउने नेतृत्व गरेको आरोप समेत लगाएका छन् ।

advertisement

‘प्रहरीबाट लुटिएका बन्दुक, गोलीसहितका हतियार अहिले कहाँ छन्, कसको हातमा छन् भन्ने जानकारी हालका गृहमन्त्रीलाई शतप्रतिशत हुनुपर्दछ,’ बर्तौलाले लेखेका छन्, ‘किनभने भ्रष्टाचार अन्त्य र सुशासनको न्यायोचित मागसहित सुरु भएको जेनेरेसन जेडको शान्तिपूर्ण आन्दोलनभित्र सुनियोजित रूपमा घुसपैठ गरी शान्ति भंग गर्ने, हिंसा फैलाउने र विध्वंस मच्चाउने योजनामा उनी प्रत्यक्ष संलग्न थिए ।’

उनले यस्तो कार्य राज्यविरुद्धको गम्भीर अपराध भएको उल्लेख गर्दै गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने माग गरेका छन् ।

नेता बर्तौलाले अर्यालमाथि नेपालको ऐतिहासिक सम्पदा, अभिलेख र दस्तावेजहरू नष्ट गराउने, घर–व्यवसायमा तोडफोड, आगजनी र लुटपाट गराउने घटनाका संयोजक भएको आरोप पनि लगाएका छन् ।

‘सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार र प्रहरी चौकीहरूमा आगजनी र विध्वंस मच्चाउने अभियानका प्रमुख योजनाकार उनी नै हुन्,’ उनले लेखेका छन्, ‘शान्तिपूर्ण आन्दोलनभित्रको घुसपैठको यही सम्बन्धका कारण उनी सजिलै गृहमन्त्री बन्न सफल भए भन्ने कुरा शुद्ध जेनजीहरूले बुझ्न जरुरी छ ।’

त्यसैगरी उनले गृहमन्त्री बनेपछि फौजदारी अपराधका दोषीहरूलाई पर्याप्त प्रमाण हुँदाहुँदै पनि कारबाही नगर्न निर्देशन दिएको आरोप लगाएका छन् ।

‘उनकै निर्देशनका कारण देशभर अराजकता, दण्डहीनता र आपराधिक गतिविधि तीव्र रूपमा बढेका छन्,’ बर्तौलाले लेखेका छन्, ‘त्यसैले राष्ट्रलाई गहिरो संकट र शोकमा डुबाउने योजनाका मुख्य सूत्रधारका रूपमा रहेका गृहमन्त्रीलाई तत्काल पदमुक्त गरी राज्यविरुद्धको अपराधमा गिरफ्तारी गरी छानबिन अघि बढाइनु अपरिहार्य छ ।’

 

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com