काभ्रे । ऊर्जा, भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङले अविरल वर्षापछि आएको बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको स्थलगत निरीक्षण गरेका छन् ।
उनले बिहीबार काभ्रेको नमोबुद्ध नगरपालिका–६, चौकीडाँडामा पुगेर रोशी खोलाले पुर्याएको क्षति अवलोकन गर्दै राजमार्गलाई दुई दिनभित्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
रोशी खोलाको किनार हुँदै पैदल हिँडेर क्षतिको अवस्थाबारे जानकारी लिँदै मन्त्री घिसिङले तत्काल उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गरेर मर्मत कार्य सुरु गर्न सडक डिभिजन कार्यालय र स्थानीय पालिकालाई निर्देशन दिएका थिए ।
निरीक्षणका क्रममा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध हुँदा दुध, तरकारी र अन्य कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन नसकिएको गुनासो गरेका थिए ।
‘राजमार्ग तत्काल सञ्चालनमा ल्याउने काम भइरहेको छ । दीर्घकालीन समाधानका लागि रोशी खोलामा बेलिब्रिज जडानको आदेश भइसकेको छ,’ मन्त्री घिसिङले भने, ‘तत्कालका लागि डाइभर्सन बनाएर सवारी सञ्चालनको व्यवस्था मिलाउनुस्, अन्य निर्माण कार्य पनि छिट्टै अघि बढाइनेछ ।’
शनिबारदेखि राजमार्ग सञ्चालन गर्ने तयारी
गत असोज १८ र १९ गतेको अविरल वर्षाले रोशी खोलामा आएको बाढीका कारण बीपी राजमार्गका विभिन्न खण्डमा ठूलो क्षति पुगेको थियो । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग पुनः सञ्चालनका लागि काभ्रे पक्षमा पाँच र सिन्धुली पक्षमा तीन स्थानमा डाइभर्सन निर्माण तीव्र गतिमा भइरहेको छ ।
कार्यालयका इन्जिनियर दुर्गा प्रसादका अनुसार शनिबार बिहानदेखि यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि सडक विभाग र ठेकेदार कम्पनीका जनशक्ति तथा उपकरणहरू रातदिन काम गरिरहेका छन् ।
उनका अनुसार काभ्रे खण्डमा मात्र १२ वटा स्काभेटर, ४ वटा ह्वील लोडर र ८ वटा टिपर परिचालन गरिएको छ । चौकीडाँडा, चारसयबेसी (कटुञ्जे), डालावेशी र कालढुंगा (भ्याकुरे खोला) क्षेत्रमा डाइभर्सन निर्माण भइरहेको छ भने रोशी गाउँपालिका–७, घुमाउनेमा डाइभर्सन तयार भइसकेको छ ।
रोशी खोलामा आएको बाढीले काभ्रेको दाप्चाखोलादेखि सिन्धुलीको नेपालथोकसम्म रहेका १९ वटा अस्थायी डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार












प्रतिक्रिया