काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी निर्वाचनको तयारीबारे सरकार र निर्वाचन आयोग दुवैले राजनीतिक दलहरूसँग आवश्यक छलफल र समन्वय नगरेको आरोप लगाएको छ ।

पार्टी प्रवक्ता अग्नी सापकोटाले दलहरूबीच कुनै परामर्श नगरी आयोगले सिधै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका हुन् ।

advertisement

‘निर्वाचनजस्तो गम्भीर विषयमा सरकार र आयोगले दलहरूसँग छलफल र समन्वय गर्नुपर्थ्यो, तर त्यो भएन,’ सापकोटाले भने, ‘यसमा हाम्रो स्पष्ट असन्तोष छ ।’

निर्वाचन आयोगले गत सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।

सापकोटाले सरकार र आयोग दुवैबाट सकारात्मक पहलको कमी देखिए पनि माओवादी केन्द्रले आफ्नो तर्फबाट निर्वाचनको वातावरण निर्माणमा सक्रिय रहेको बताए ।

‘चुनावको तयारीका लागि न त सरकारले पर्याप्त पहल गरेको छ, न त आयोगले। तर हामीले भने चुनाव गर्नैपर्छ भन्ने स्पष्ट अडान लिएका छौं,’ उनले भने, ‘चुनाव नगरे देश थप संकटमा पर्न सक्छ, त्यसैले हामीले वातावरण बनाउन जुटेका छौं।’

उनका अनुसार सरकार र आयोग दुवै गम्भीर नदेखिएकाले अहिलेको परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले पहल गर्नुपर्ने समय आएको छ ।

‘सामान्य अवस्थामा राष्ट्रपतिको सक्रिय भूमिका आवश्यक नपर्ला, तर अहिले परिस्थिति विषम छ,’ सापकोटाले भने, ‘यो विशेष अवस्थामा हुने विशेष चुनाव भएकाले राष्ट्रपतिले पहल गर्नु उचित र आवश्यक दुवै हुन्छ।’

यसअघि माओवादी केन्द्रले बुधबार आफ्ना कार्यकर्तालाई परिपत्र जारी गर्दै मतदाता नामावलीमा नाम दर्ता गर्न र अन्यलाई पनि दर्ताका लागि सहयोग गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com