काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुअघि निर्वाचन आयोगले राजनीतिक दलहरूसँग कुनै छलफल नगरेको भन्दै प्रश्न उठाएको छ ।

बुधबार बसेको पार्टी सचिवालय बैठकपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगले दलहरूसँग परामर्श नगरी कार्यतालिका सार्वजनिक गरेको विषय बैठकमा गम्भीर रूपमा उठेको जानकारी दिए ।

advertisement

‘निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गर्नु अघि राजनीतिक दलहरूसँग छलफल र परामर्श गर्नुपर्थ्यो भन्ने कुरा सचिवालय बैठकमा उठेको छ,’ बुर्लाकोटीले भने, ‘यस विषयमा हामी पार्टीभित्र थप छलफल गरिरहेका छौं ।’

उनका अनुसार रास्वपाको अर्को सचिवालय बैठक शुक्रबार बस्नेछ, जसमा आयोगको कार्यशैली र आगामी निर्वाचनबारे पार्टीको आधिकारिक धारणा तय गरिनेछ ।

बुर्लाकोटीले दलहरूसँग संवाद र सहमति गर्दै अघि बढ्दा चुनावी वातावरण सहज र सकारात्मक बन्ने भन्दै सरकार र आयोगलाई समन्वयात्मक भूमिका निभाउन आग्रह गरे ।

बुधबारको बैठकमा भदौ २३ र २४ गतेका राजनीतिक घटनाक्रमपछि देखिएको अन्यौलता अन्त्य गर्न र राष्ट्रिय एकता सुदृढ बनाउन ‘सद्भाव यात्रा’ सुरु गर्ने तयारीबारे पनि छलफल भएको उनले बताए । उक्त यात्राबारे अन्तिम निर्णय शुक्रबारको बैठकबाट हुनेछ ।

त्यसैगरी उनले पार्टीको कात्तिक १४ र १५ गते हुने विस्तारित बैठकका एजेन्डा तय गर्ने जिम्मेवारी पनि यही सचिवालय बैठकले लिएको जानकारी दिए ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com