काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बल्ने चेतावनी दिएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याल र अन्य राजनीतिक व्यक्तित्वहरूलाई लक्षित गर्दै यस्तो सन्देश दिएका हुन्।
बस्नेतले भने, ‘नेकपा एमालेका नेता केपी शर्मा ओली र महेश बस्नेत छाती फर्काएर हिँड्दैनन्। हाम्रो टोलीले हिजो राणा, पञ्च र शाही शासनविरुद्ध माओवादी युथफोर्स बनाएर संघर्ष गरेको हो।’
उनले जेनजी आन्दोलनका सहभागीहरूलाई पनि सावधान रहन चेतावनी दिए ।
त्यसैगरी उनले भ्रष्टाचार छानबिनमा एमाले सहयोग गर्न तयार रहेको बताए। ‘हामी सहयोग गर्न तयार छौं, हाम्रा विषयमा पनि छानबिन गर्नुस्, तर नेपालको नम्बर एक भ्रष्टाचारी कुलमानबाट सुरु गर्नुस्,’ बस्नेतले भने।
उनले अर्थमन्त्री रामेश्वर खनालको स्रोतबारे प्रश्न उठाएका छन् र मेयर बालेन शाह र जेनजी नेता सुदन गुरुङको छानबिन आवश्यक रहेको बताए। उनले चेतावनी दिए, ‘केपी ओलीलाई छोए देशभरि आगो बल्नेछ।’
साथै, उनले एमालेको युवासंघले असोज २५ गते मोटरसाइकल र्यालीमार्फत आफ्नो शक्ति प्रदर्शन गर्ने तयारी रहेको पनि जनाए।
प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार












प्रतिक्रिया