काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै त्यसको पुनर्स्थापनाको माग अघि बढाउने घोषणा गरेका छन्।
भक्तपुरमा एमालेले गुण्डुमा आयोजना गरेको कार्यक्रममा ओलीले लोकतन्त्रको रक्षा र पुनर्बहालीका लागि प्रतिनिधि सभा पुनर्स्थापना अनिवार्य भएको बताए।
‘समयमै कदम नचालिए पछि पछुतो लाग्छ,’ उनले भने, ‘कतिपयले भन्छन्, फागुन २१ गते चुनाव भएन भने मात्र संसद् पुनर्स्थापना माग गरौंला। संसद् विघटन असंवैधानिक, गैरकानूनी र अलोकतान्त्रिक हो। देशको हितविपरीत भएको यसलाई हामीले स्वीकार गर्न सक्दैनौं। फागुन २१ गते पर्खनु आवश्यक छैन।’
ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि जनता सडकमा आउन तयार हुने विश्वास पनि व्यक्त गरे। ‘हामी अघि बढ्ने बेला आएको छ। नेपाली जनता आन्दोलनको आँधी–तुफान सिर्जना गर्दै अघि बढ्नेछ,’ उनले भने।
उनले प्रधानमन्त्री सुशीला कार्कीले पद ग्रहणका लागि संसद् विघटनको शर्त राखेको प्रसंग पनि स्मरण गराउँदै, ‘असंवैधानिक ढंगले संसद् भंग गरिएको छ। संसद् भंग गर्ने अधिकार कसले पायो? कहाँबाट पायो?’ भने।
ओलीले संसद् र संविधानको संरक्षण गर्दै निकास खोज्ने सबै पक्षको सहमति भएको बताए। ‘मसँग कुरा हुँदा संविधान र संसद् कायम राखेर निकास खोज्ने सबैको सहमति थियो। तर राजनीतिक दलहरूलाई पञ्चाएर वार्ता गर्ने, सरकार बनाउने र संसद् भंग गर्ने काम गरिएको हो,’ उनले भने।
त्यसैगरी उनले प्रतिनिधि सभा पुनर्स्थापनाको एजेण्डामा कांग्रेसको पनि साथ रहने बताए।
प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार












प्रतिक्रिया