काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू व्यक्तिगत रूपमा हेपिन तयार भए पनि देशको स्वाभिमान कसैले ठेस पुर्याउन नपाउने स्पष्ट पारेका छन्।
भक्तपुरको गुण्डुमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘म आफू हेपिन सक्छु, तर मेरो देशलाई कसैले हेप्न पाउँदैन, मेरो देशको स्वाभिमान कसैले मिच्न सक्दैन।’
अहिलेको सरकारले संविधान, संसद् र लोकतन्त्रमाथि आक्रमण गर्दै गलत मार्ग अपनाएको आरोप लगाउँदै ओलीले चेतावनी दिए, ‘यदि समयमा हामीले ठोस कदम नचाल्यौं भने पछि ढिलो भयो भनेर पछुतो मात्र हुनेछ। अब नेपाली जनता आन्दोलनको आँधी–तुफान सिर्जना गर्दै अघि बढ्नुपर्छ।’
उनले संविधान मिच्ने र संसद् विघटन गर्ने कुनै पनि प्रयास सह्य नहुने बताए र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट भएर संविधान र लोकतन्त्रको पुनर्बहालीमा अघि बढ्न आह्वान गरे।
ओलीले विदेशी कम्पनीहरूले पनि नेपालको सार्वभौमिकता र कानुनको सम्मान गर्नुपर्ने जोड दिए। ‘नेपाल सार्वभौम सत्ता सम्पन्न राष्ट्र हो। हाम्रो संविधान, कानुन र स्वाभिमानलाई कसैले हेप्न पाउँदैन,’ उनले भने।
साथै उनले वर्तमान सरकार राष्ट्रिय एकताको विरोधमा र भाँडभैलोको पक्षमा रहेको आरोप लगाउँदै लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहमति र समझदारी आवश्यक रहेको बताए।
प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार












प्रतिक्रिया