काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामाथि आँच पु¥याउने कुनै पनि कदम चाल्ने हो भने “सरकार ढल्न १७ घण्टा पनि लाग्दैन” भन्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै शाहीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन्। उनले पूर्व प्रधानमन्त्री केपी ओलीको सरकारले २७ घण्टामै पतन भएको उदाहरण दिँदै भनेका छन्, “याद राख्नुस्, केपी ओलीको सरकार २७ घण्टामा ढल्यो, तपाईंको सरकारलाई १७ घण्टा पनि लाग्दैन।”
शाहीले कर्णाली प्रदेशको नाममा एक तिब्बती मूलकी महिलालाई मन्त्री बनाउने तयारी भइरहेको दाबी गरेका छन्। उनका अनुसार उक्त महिला र उनका परिवार “फ्री तिब्बत अभियान”सँग सम्बन्धित रही, दलाई लामासँगै तिब्बतबाट नेपाल आएका शरणार्थी हुन्, जसले पछि नेपाली नागरिकता लिएको दाबी उनले गरेका छन्।
उनले लेखेका छन्, “वास्तविक कर्णालीवासी नै नभएकी एउटी तिब्बतीयनलाई मन्त्रिपरिषद्मा ल्याउने तयारी भइरहेको सुनिएको छ। यदि यस्तो राष्ट्रघाती काम अघि बढाइयो भने यो सरकारले टिक्न सक्दैन।”
शाहीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रत्यक्ष सन्देश दिँदै भनेका छन्, “सम्माननीय प्रधानमन्त्रीज्यू, म तपाईंप्रति व्यक्तिगत रूपमा धेरै सम्मान राख्छु, तर यदि देशको सार्वभौमसत्ता नै संकटमा पर्यो भने तपाईंका विरुद्धमा खडा हुनुपर्ने अवस्था आउन सक्छ। त्यसैले यस्ता गलत क्रियाकलाप रोक्न म तपाईंलाई सुझावका रूपमा अनुरोध गर्छु।”
शाहीको उक्त टिप्पणीले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ। सरकार पक्षले भने यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया