काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तिहारपछि देशव्यापी ‘सद्भाव यात्रा’ सुरु गर्ने तयारी गरेको छ । पार्टीले हिमाल, पहाड र तराई गरी तीन चरणमा यो यात्रा सञ्चालन गर्ने कार्यक्रम बनाइरहेको छ ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने सचिवालय बैठकमा यस विषयमा विस्तृत छलफल हुनेछ । सो बैठकबाट यात्राको मिति र चरणगत कार्यतालिका तय गरिने अपेक्षा गरिएको छ ।

advertisement

प्रवक्ता झाले समाजमा हाल विभाजन र अविश्वास बढ्दै गएको भन्दै त्यसलाई कम गर्न ‘सद्भाव यात्रा’ आवश्यक भएको बताए । उनका अनुसार, ‘राज्य र समाजबीचको दूरी घटाउन, मानिसहरूबीचको विश्वास पुनःस्थापित गर्न र परस्पर सद्भाव कायम गर्न नै यो यात्रा गर्न लागिएको हो ।’

उनका भनाइमा, पछिल्ला दिनमा आन्दोलनका क्रममा छिमेकीका घर जोगाउने भावना हराउँदै गएको छ, राजनीतिक दलहरूले एकअर्काको संरचना नष्ट गर्दा पनि मौन रहने अवस्था बनेको छ । यस्तो स्थितिमा समाजमा पुनः विश्वास र सहअस्तित्वको भावना जगाउन रास्वपाले यो पहल गरेको हो ।

झाका अनुसार, यात्राका क्रममा पार्टीका नेता तथा कार्यकर्ताहरू गाउँ–बस्ती, चिया चौतारी, क्लब र सार्वजनिक स्थलहरूमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्नेछन् । ‘हामी समाजभित्र पुग्छौं, मान्छेसँग कुरा गर्छौं, उनीहरूको पीडा बुझ्छौं र जोडको सन्देश फैलाउँछौं,’ उनले भने ।

झाले थपे, ‘जेनजीहरूले उठाएका धेरै विषयहरू संसदमा हामीले उठाएका हौँ, तर संख्यात्मक कारणले सबै कार्यान्वयन गर्न नसकिएको हो । अब समाजमै गएर त्यो कुरा बुझाउन र विश्वास जगाउन सद्भाव यात्रा प्रभावकारी माध्यम बन्नेछ ।’

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com