काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी तयारीमा सक्रिय भएको छ । पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि वाचा पत्र (घोषणापत्र) लेखन प्रक्रिया सुरु गरेको छ ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा वाचा पत्र लेखन समिति गठन गरिएको छ । उनले भने, ‘हामी अब पूर्ण रूपमा चुनाव तयारीमा केन्द्रित भएका छौँ । वाचा पत्र तयार पार्ने काम तीव्र गतिमा अघि बढिरहेको छ ।’
दुई ठूला दल — नेपाली कांग्रेस र नेकपा (एमाले) — चुनावको सम्भावनाबारे अनिश्चितता प्रकट गरिरहेका बेला रास्वपाले भने स्पष्ट रूपमा निर्वाचन केन्द्रित नीति अपनाएको हो । एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको प्रस्ताव अघि सारेको छ भने कांग्रेसले यस विषयमा अझै औपचारिक निर्णय गरेको छैन । माओवादी केन्द्र भने चुनावको पक्षमा उभिएको देखिन्छ ।
यसबीच, विघटित प्रतिनिधि सभाको चौथो ठूलो दलका रूपमा रास्वपा चुनावी तयारीसँगै संगठन सुदृढीकरण र नीति निर्माणमा जुटेको छ ।
रास्वपाका सह–महामन्त्री विपिन आचार्यले भने उल्टै कांग्रेस र एमालेकै प्रतिबद्धतामाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत उनले दुवै दललाई पुरानो राजनीतिक अंकगणित त्यागेर नयाँ जनमतका लागि तयार हुन आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘यदि पुराना पार्टीभित्र अझै देशलाई सर्वोपरि ठान्ने कोही बाँकी हुनुहुन्छ भने, पुरानो नेतृत्वलाई विस्थापित गरेर नयाँ जनादेश लिन मन, वचन र कर्मले जुट्नुस्।’
आचार्यले चेतावनी दिएका छन् — पुरानो संसद्का अंकको दम्भमा राजनीति अघि बढाउने प्रयास भयो भने, त्यसले केही समय देशलाई अस्थिर त बनाउनेछ तर अन्ततः पुराना पार्टीहरूको अस्तित्व समाप्त हुनेछ ।
रास्वपाले यही असोज ७ गते बसेको केन्द्रीय समिति बैठकमा प्रतिनिधि सभा निर्वाचनको तयारीलाई मुख्य एजेन्डा बनाउने निर्णय गरेको थियो । त्यसपछिको सचिवालय बैठक (असोज २२ गते)मा चुनावी रणनीति र अभियानबारे छलफल भएको थियो ।
आज पनि पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे बस्ने सचिवालय बैठकमा आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन तयारी, संगठन विस्तार र राजनीतिक समसामयिक विषयहरूमा निर्णय हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया