एजेन्सी । दक्षिण अमेरिकी देश पेरुकी राष्ट्रपति डिना बोलुआर्ते संसदबाट महाभियोग लगाई पदमुक्त भएकी छन्। लगातार बढ्दो अपराध नियन्त्रण गर्न असफल भएको आरोपसहित संसदले उनलाई हटाउने निर्णय गरेको हो।
बिहीबार राति बसेको १३० सदस्यीय संसदको बैठकमा १२४ सांसदले महाभियोग प्रस्तावको पक्षमा मतदान गरेका थिए। सरकार अपराध नियन्त्रणमा असफल भएको र जनताको सुरक्षाप्रति संवेदनशीलता नदेखाएको भन्दै प्रस्ताव पारित गरिएको हो।
संसदले बोलुआर्तेलाई बिहीबार मध्यरातअघि उपस्थित हुन आह्वान गरेको थियो, तर उनी उपस्थित नहुँदा बैठकले मतदान प्रक्रिया अघि बढाएर महाभियोग प्रस्ताव पारित गरेको हो।
हालै राजधानी लिमामा गोलीकाण्ड भएको घटनापछि जनआक्रोश चर्किएको थियो। अपराधदर घटाउने आश्वासन बारम्बार दिए पनि ठोस परिणाम नदेखिएपछि जनताले सडक आन्दोलन थालेका थिए।
त्यसैबीच, पेरुका ‘जेनजी’ युवा समूहहरू पनि तलब वृद्धि र निवृत्तिभरण प्रणालीमा सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका थिए, जसले राजनीतिक अस्थिरता अझ गहिरो बनाएको बताइएको छ।
राष्ट्रपति पदबाट हटाइएकी बोलुआर्तेलाई यसअघि पनि आठ पटक महाभियोगको प्रस्ताव सामना गर्नुपरेको थियो, तर ती सबै असफल भएका थिए। यसपटक भने दुईतिहाइभन्दा बढी सांसदले उनको विरोधमा मत दिएपछि उनी पदमुक्त भएकी हुन्।
सन् २०२२ मा आफ्ना पूर्ववर्तीलाई महाभियोग लगाएर बोलुआर्ते सत्ताारोहण गरेकी थिइन्। उनले देशमा अवैध आप्रवासीहरूको बढ्दो संख्याले अपराधमा वृद्धि गराएको दाबी गर्दै आएकी थिइन्।
पेरु सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार, गत जनवरीदेखि अगस्टको मध्यसम्म ६ हजार ४१ जनाको हत्या र १५ हजार ९८९ फिरौतीका घटना दर्ता भएका थिए। यी तथ्यांकले देशको सुरक्षास्थितिप्रति गम्भीर प्रश्न उठाएको विश्लेषण गरिएको छ।
प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया