काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १५ भित्र उम्मेदवार तयारी प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। असोज २२ र २४ गते बसेको सचिवालय बैठकले उम्मेदवार छनोटको स्पष्ट विधि तयार गर्ने जिम्मेवारी सहमहामन्त्री विपीनकुमार आचार्यलाई दिएको छ।

बैठकका निर्णय अनुसार, एकीकृत निर्वाचन खाका अन्तर्गत आचार्यले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र पालिका तहसम्मबाट सुझाव संकलन गरी उम्मेदवार छनोट प्रक्रियाको मस्यौदा तयार गर्नेछन्। यसका लागि प्रदेश सभापति र केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सात दिने सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय गरिएको छ।

advertisement

प्रवक्ता मनिष झाले बताए अनुसार, ‘कार्यदलको सुझावका आधारमा कात्तिक १५ भित्र उम्मेदवारी आव्हानको तयारी पूरा गरिनेछ।’

यसैगरी, उपसभापति डा. स्वर्णिम वाग्लेलाई उच्च संवाद समितिको संयोजक तोकिएको छ। वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि विभिन्न सामाजिक तथा राजनीतिक शक्ति र समूहसँग संवाद र सहकार्य अघि बढाउने जिम्मेवारी वाग्लेलाई दिइएको हो।

झाले भने, ‘पार्टीले गठन गरेका समितिहरूबीच समन्वय र कार्यएकरूपता ल्याउँदै वृहत्तर राजनीतिक सहकार्य र समाधानको वातावरण बनाउन उच्च तहको संवाद वाग्लेले सञ्चालन गर्नेछन्।’

केन्द्रीय सल्लाहकार परिषद् गठन

रास्वपाले पाँच सदस्यीय केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ, जसमा विभिन्न क्षेत्रका विज्ञ र प्रतिष्ठित व्यक्तित्वहरू मनोनीत गरिएको पार्टीले जनाएको छ।

परिषदका सदस्यहरूमा —

  • जगन्नाथ पौडेल (चितवन) – वरिष्ठ अधिवक्ता तथा नेपाली कांग्रेसका पूर्वनेता

  • नमस्ते लाल भूमि (तनहुँ) – सरसफाइ तथा विकास विज्ञ

  • शोभा जोशी विजुक्छे (ललितपुर) – समाजसेवी र उद्यमी

  • बुद्धीलाल विश्वकर्मा (सप्तरी) – इन्जिनियर तथा जलस्रोत–सिँचाइ विज्ञ

  • जयकिशोर लाल (महोत्तरी) – जनकपुर नर्सिङ क्याम्पसका पूर्व प्रमुख

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com