काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले सरकारलाई २४ घण्टाभित्र मोटरसाइकल र्‍याली गर्न अनुमति दिन अल्टिमेटम दिएको छ। संघका अध्यक्ष क्षितिज थेबेले अनुमति नआए सरकारविरुद्ध सडक संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष थेबेले भने, ‘यदि आइतबारसम्म पनि प्रशासनले र्‍यालीको अनुमति दिएन भने हामी शान्तिपूर्ण तरिकाले सडकमा उत्रिनेछौं। सरकारले रोक्न खोजे पनि युवा आन्दोलनलाई थाम्न सक्दैन।’

advertisement

युवा संघले शुक्रबार काठमाडौंमा मोटरसाइकल र्‍याली आयोजना गर्ने घोषणा गरेको थियो। तर, जिल्ला प्रशासन कार्यालयले सुरक्षा कारण देखाउँदै र्‍यालीको अनुमति नदिएपछि संघले कार्यक्रम स्थगित गरेको हो।

सरकारको निर्णयप्रति आक्रोश व्यक्त गर्दै थेबेले भने, ‘शान्तिपूर्ण र्‍यालीमा रोक लगाएर सरकारले नागरिकको मौलिक हकमाथि अतिक्रमण गरेको छ। यस्तो कदमले लोकतन्त्रको मर्यादामै प्रहार गरेको छ।’

उनले थपे, ‘हाम्रो र्‍याली कुनै हिंसात्मक उद्देश्यका लागि होइन, शान्ति, सुशासन र नागरिक अधिकारको पक्षमा थियो। तर सरकारले अधिनायकवादी प्रवृत्ति देखाउँदै हाम्रो हक खोस्ने प्रयास गरेको छ।’

थेबेले युवा संघ विधिको शासन र कानूनी राज्यमा विश्वास गर्ने संगठन भएको दोहोर्याउँदै भने, ‘हामीले प्रशासनको आदेशको सम्मान गर्दै शुक्रबार र्‍याली नगर्यौं, तर यदि सरकारले दबाब र प्रतिबन्ध जारी राख्यो भने, हामी लोकतान्त्रिक अधिकारका लागि सडकमा निस्कन बाध्य हुनेछौं।’

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com