एजेन्सी । इजरायलले युद्धविराम घोषणा गर्दै शुक्रबार गाजामा सेना फिर्ता गर्न सुरु गरेसँगै हजारौं विस्थापित प्यालेस्टिनीहरू आफ्नो घ। वस्तीमा फर्कन थालेका छन् ।

दुई वर्षको क्रूर युद्धपछि गाजामा रहेका इजरायलका बाँकी बन्धकहरूका परिवारहरूमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको युद्धविराम कायम हुने आशा जागेको छ।

advertisement

इजरायली सेनाले युद्धविराम सम्झौता र बन्धकहरूको फिर्तीको तयारीका लागि स्थानीय समय अनुसार मध्यान्हमा सैन्य कारबाही बन्द गरेको बताएको छ।

इजरायलले सैन्य कारबाही बन्द गरेको घोषणा गरेको तीन घण्टापछि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ट्रम्पको शान्ति योजनामा इजरायलले फिर्ता हुने पहिलो चरणको काम पूरा भएको पुष्टि गरेको थियो । इजरायली सेनाले अझै पनि प्यालेस्टाइनको ५३ प्रतिशत भूभाग कब्जा गरेको छ ।

इजरायली सेनाको फिर्तीसँगै हमासलाई गाजामा रहेका बाँकी बन्धकहरूलाई रिहा गर्न ७२ घण्टाको समयसीमा तय भएको छ।

यसैबीच, इजरायलले रिहा गर्ने योजना बनाइएका सन् २०२३ अक्टुबर ७ पछि पक्राउ परेका २५० सहित एक हजार ७०० प्यालेस्टिनी कैदीहरूको सूची प्रकाशित गरेको छ ।

युद्धविराम सुरु भएपछि दुई वर्षको भीषण बमबारीपछि संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको अनिकालको अवस्थाबीच थकित प्यालेस्टिनीहरूको लामो लहर दक्षिणी शहर खान युनिसबाट उत्तरमा आफ्ना भत्केका घरहरूतर्फ यात्रा सुरु गरेका छन्।

गाजा र इजिप्टबीचको राफा सीमामा रहेको युरोपेली सङ्घको मिसनले आगामी अक्टोबर १४ देखि पैदल यात्री मार्ग पुनः खोल्ने भएको इटालीले जनाएको छ ।

युद्धविराम सम्झौताअनुसार हमासले दुई वर्षअघि भएको आक्रमणका क्रममा अपहरणमा परेका २५१ जनामध्ये अझै पनि बन्धक बनाइएका ४७ जना जीवित र मृत व्यक्तिलाई हस्तान्तरण गर्नेछ भने सन् २०१४ देखि गाजामा बन्धक बनाइएका थप एक व्यक्तिको अवशेष पनि फिर्ता हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com