काठमाडौं । जेनजी पुस्ताको तर्फबाट मन्त्री पदका लागि सिफारिस भएकी टासी ल्हान्जोममाथि हालसालै लगाइएका आरोपहरूलाई इन्डिजिनियस जेनजी कलेक्टिभ्स र जेनजी मुभमेन्ट अलायन्सले कडाइका साथ खारेज गरेका छन्।

शनिबार संयुक्त रूपमा जारी विज्ञप्तिमा ती दुवै संस्थाले आदिवासी जनजाति समुदायका अग्रसर अभियन्ता टासी ल्हान्जोममाथि योजनाबद्ध रूपमा चरित्रहत्या गर्ने प्रयास भइरहेको उल्लेख गर्दै ल्हान्जोममाथि उठाइएका आरोपहरू ‘षड्यन्त्रपूर्ण र जातीय पूर्वाग्रही’ भएको दाबी गरेका छन्।

advertisement

विज्ञप्तिमा भनिएको छ, ‘टासी ल्हान्जोम जस्तो सक्षम, सचेत र जिम्मेवार हिमाली व्यक्तिमाथि लगाइएका कपोलकल्पित आरोपहरू नेपाली समाजमा अझै पनि जीवित जातीय विभेदको प्रतीक हुन्।’ संस्थाहरूले सामाजिक सञ्जालमार्फत फैलाइएका ‘हेर्दै नेपालीजस्तो नदेखिने’, ‘विदेशी शक्तिको प्रभावमा रहेको’ र ‘नक्कली नागरिकता लिएको’जस्ता अभिव्यक्तिलाई पूर्ण रूपमा निराधार, अपमानजनक र घृणापूर्ण भनेका छन्।

ती संस्थाहरूले आदिवासी र महिला समुदायमाथि निरन्तर हुँदै आएको भेदभाव र घृणाको प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसलाई ‘संविधानले ग्यारेन्टी गरेका समानता र समावेशी अधिकारमाथिको प्रत्यक्ष आघात’ बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा गैर–खस भाषा बोल्ने, गैर–हिन्दु संस्कृति पालन गर्ने वा मंगोलियन अनुहार भएकै कारण आदिवासी समुदायहरू शताब्दीऔँदेखि राज्यका निर्णायक संरचनाबाट पन्छाइँदै आएका छन्। संघीय गणतन्त्रमा प्रवेश गरे पनि विसं. १८५४ को मुलुकी ऐनले संस्थागत गरेको जातीय–पितृसत्तात्मक विभेदका अवशेष अझै पनि कायम छन्।’

संविधानको धारा १८ र ४२ ले सुनिश्चित गरेको समानता, सामाजिक न्याय र समावेशीकरण व्यवहारमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै विज्ञप्तिले यस अवस्थालाई ‘ऐतिहासिक अन्यायको निरन्तरता र संविधानको मर्मविपरीतको अभ्यास’ भनेको छ।

संगठनहरूले राज्यका सबै अंगहरूलाई आदिवासी र आदिवासी महिलालाई पूर्ण अधिकारप्राप्त नागरिकको रूपमा मान्यता दिन, विभेद फैलाउनेहरूलाई कानुनी कारबाहीमा ल्याउन र समावेशी शासन प्रणालीलाई व्यवहारमा उतार्न माग गरेका छन्।

विज्ञप्तिसँगै टासी ल्हान्जोमको प्रमाणित नेपाली नागरिकताको प्रमाणपत्र र वडा कार्यालयको सिफारिसपत्रसमेत सार्वजनिक गरिएको छ, जसले उनको वैधानिक पहिचानलाई स्पष्ट पुष्टि गर्छ।

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com