काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वसांसद महेश बर्तौलाले राज्य संयन्त्रमा गैरजिम्मेवार र अनधिकृत हस्तक्षेप बढ्दै गएको आरोप लगाएका छन्। उनले यस्तो प्रवृत्तिले विधिको शासन, लोकतान्त्रिक अभ्यास र सुशासनका आधारभूत मूल्यहरू कमजोर बनाइरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बर्तौलाले राज्य संरचनाभित्र देखिएको मनपरी र हस्तक्षेपकारी व्यवहारलाई ‘संस्थागत अनुशासनहीनता’ को रूपमा व्याख्या गर्दै चेतावनी दिए — ‘यदि राज्य अराजकता र भीडको दबाबमा चल्ने हो भने मुलुक दिशाविहीन हुने निश्चित छ।’
उनका अनुसार, औपचारिक जिम्मेवारी नपाएका व्यक्तिहरूले राज्य संयन्त्रमा प्रभाव जमाउने, गोप्य जानकारी माग्ने र निर्देशन दिने काम खुलमखुल्ला भइरहेकाले शासन प्रणालीको नैतिकता र मर्यादा खतरामा परेको छ। बर्तौलाले भने, ‘राज्यका औपचारिक संयन्त्रहरूमा अनधिकृत पहुँच दिइनु, त्यस्ता व्यक्तिहरूलाई राज्यको नाममा महत्व दिनु र निर्देशन दिने अधिकार प्रयोग गर्न दिनु — यो विधिको शासनका सिद्धान्तसँग असंगत र लोकतान्त्रिक मूल्यविपरीतको अभ्यास हो।’
उनले सरकार अझै पनि आम नागरिक र जिम्मेवार पदमा रहेका कर्मचारीहरूको सुरक्षाप्रति आश्वस्त गराउन नसकेको टिप्पणी गरे।
बर्तौलाले दण्डहीनताको संस्कृति फैलन नदिन र राज्यका अंगहरूलाई स्वतन्त्र, निष्पक्ष र कानूनी परिभाषाभित्र रहेर कार्य गर्न सक्षम वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए। उनका शब्दमा, ‘विधिको शासन कायम राख्न राज्यका निकायहरूले राजनीतिक दबाब वा बाह्य हस्तक्षेपबिना आफ्नो संवैधानिक भूमिकाअनुसार काम गर्न पाउनुपर्छ।’
प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार












प्रतिक्रिया