काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्कीको ताजा अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले कार्कीले ‘असली जेनजी आफूले चिनेकी छैन’ भन्ने टिप्पणी गरेर आन्दोलनको भावना नै अपमान गरेको आरोप लगाए।

शनिबार काठमाडौंमा बसेको आजपाको उपत्यका विशेष कमिटी बैठकलाई सम्बोधन गर्दै साहले भने, ‘त्यही जेनजी आन्दोलनको बलमा तपाईं प्रधानमन्त्रीको कुर्सीमा पुग्नुभयो, तर अहिले आएर ‘रियल जेनजी को हुन्, म चिन्दिनँ’ भन्नु हाँस्यास्पद मात्र होइन, अत्यन्त आपत्तिजनक पनि हो।’

advertisement

उनले प्रधानमन्त्री कार्कीलाई प्रश्न गर्दै थपे, ‘तपाईं कसको आन्दोलनको परिणामस्वरूप शीतलनिवास पुग्नुभयो? आन्दोलन कसको थियो भन्ने थाहा थिएन र? यदि असली जेनजीलाई नचिन्ने हो भने जनताले भोलि तपाईंलाई ‘डुप्लिकेट प्रधानमन्त्री’ भन्न सक्छन्।’

साहले सरकारलाई कमजोर र असंवेदनशील भन्दै चुनाव तोकिएकै मितिमा हुन सक्नेमा गम्भीर शंका व्यक्त गरे। उनले भने, ‘सुशीला सरकार वजनदार देखिँदैन, अँध्यारो कोठाबाट शासन गर्ने शैली अस्वीकार्य छ। अदालतमा बेञ्च चलाएजस्तो देश चलाउन सकिँदैन।’

उनका अनुसार, प्रधानमन्त्री कार्कीले देशलाई संकटबाट निकाल्न आवश्यक राजनीतिक गम्भीरता देखाउन सकेकी छैनन्। उनले सर्वदलीय बैठक बोलाउने विषयमा पनि प्रधानमन्त्रीको उदासीनता र शीतलनिवासप्रतिको निर्भरता आलोचना गरे। ‘जेनजी आन्दोलन अघि र पछि संघर्षको अग्रपंक्तिमा रहेका शक्तिहरूलाई बेवास्ता गर्दै सर्वदलीय छलफलमा बाईपास गर्नु अन्यायपूर्ण र राजनीतिक असावधानी हो,’ उनले भने।

साहले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति पनि प्रश्न उठाउँदै भने, ‘दलहरूलाई रातो कार्पेट ओछ्याउने तर जेनजी आन्दोलनका अगुवाहरूप्रति मौन रहने? यस्तो द्वैध व्यवहारले के सन्देश दिन खोजिएको हो?’

गृहमन्त्रालयको नेतृत्व कमजोर भएको दाबी गर्दै साहले सुरक्षा संयन्त्र असक्षम भएको आरोप लगाए। उनले भने, ‘आन्दोलनका क्रममा लुटिएका हतियार अझै फिर्ता ल्याउन नसक्ने सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सक्छ भन्नेमा गम्भीर शंका छ।’

साहले मुलुक अहिले गहिरो राजनीतिक र प्रशासनिक संकटको घेरामा फसिरहेको चेतावनी पनि दिए। ‘जनविद्रोहको उत्साह म्लान हुँदै गएको छ, कारण सरकार आफैं हो,’ उनले भने।

प्रधानमन्त्री कार्कीले अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै साहले प्रश्न गरे, ‘महिनौं बित्दा पनि मन्त्रिपरिषद् पूर्ण हुन नसक्नु प्रधानमन्त्रीको कमजोरी हो।’

आगामी निकासका विषयमा उनले वर्तमान व्यवस्था र संविधानले मात्र स्थायित्व दिन नसक्ने दाबी गर्दै अन्तरिम संविधान र अन्तरिम सरकारको आवश्यकता औंल्याए। ‘देशभक्त, न्यायप्रेमी र परिवर्तन चाहने शक्तिहरूको नयाँ निर्णायक आन्दोलन अब अपरिहार्य बनेको छ,’ उनले जोड दिए।

बैठकमा साहले आम जनता पार्टी स्थापनाको छोटो अवधिमै बलियो संगठनका रूपमा उभिन सफल भएको दाबी पनि गरे।

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com