काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आकस्मिक केन्द्रीय समिति बैठक आव्हान गरेको छ । हालको जेनजी विद्रोहपछि उत्पन्न राजनीतिक परिस्थिति, वामपन्थी एकता तथा ध्रुवीकरणको प्रयास र विशेष महाधिवेशनको तयारीजस्ता प्रमुख विषयमा छलफल गर्न बैठक बोलाइएको स्थायी समिति सदस्य अनिल शर्मा ‘विरही’ले जानकारी दिए ।
विरहीका अनुसार बैठक कपिलवस्तुस्थित शिवगढीमा आज दिउँसो २ बजे सुरू हुने छ । शनिबार बसेको स्थायी समिति बैठकले उक्त केन्द्रीय समिति बैठकका एजेन्डा तय गरेको थियो । उनका भनाइमा, बैठकमा नेकपा (माओवादी केन्द्र) लगायत विचार मिल्ने वाम शक्तिहरूसँग सम्भावित एकता र राजनीतिक ध्रुवीकरणका विषयमा औपचारिक निर्णय लिइनेछ ।
‘विचार र सिद्धान्तमा नजिक रहेका सबै वामपन्थी शक्तिहरूसँग एकता र ध्रुवीकरणका लागि एजेन्डा तय गरिएको छ,’ विरहीले भने, ‘त्यससँगै जेनजी आन्दोलनपछिको परिस्थितिको मूल्यांकन गरी नयाँ राजनीतिक दिशा तय गर्ने उद्देश्य बैठकको मुख्य केन्द्रमा छ ।’
यसअघि महासचिव विप्लव असोजको दोस्रो हप्तामा काठमाडौं आइ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत वाम नेताहरूसँग भेटघाट गर्दै सम्भावित एकता र सहकार्यबारे प्रारम्भिक छलफल गरिसकेका थिए ।
भदौ २३ देखि २६ गतेसम्म बसेको पार्टीको नियमित केन्द्रीय समिति बैठकले आगामी फागुन महिनामा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, त्यसपछिको तीव्र राजनीतिक उथलपुथल र जेनजी आन्दोलनका प्रभावलाई मध्यनजर गर्दै विप्लवले एक महिनामै आकस्मिक बैठक बोलाएका हुन् ।
पार्टी स्रोतका अनुसार, बैठकले देशको नयाँ राजनीतिक समीकरण, वामपन्थी ध्रुवीकरण र आगामी विशेष महाधिवेशनका तयारीबारे ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार












प्रतिक्रिया