काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले २०७२ सालको भूकम्प र त्यसपछिको बाढीपहिरोले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणको महत्त्व बोध गराएको बताए।
भौगोलिक रूपमा नेपाल सुन्दर भए पनि जोखिमपूर्ण रहेको उनको भनाइ छ। नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुख्खा लगायतका प्राकृतिक तथा मानवसिर्जित विपद्हरूको उच्च जोखिम रहेको उल्लेख गर्दै उनले विपद्लाई प्राकृतिक मात्र नभई सामाजिक संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याए।
संविधान, राष्ट्रिय नीति तथा कानुनहरूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यहरू सबैको समन्वय, सहकार्य र सहभागितामा सम्पादन हुने व्यवस्था गरेको उनले जानकारी दिए।
उनले भने, ‘नेपाल भौगोलिक रूपमा सुन्दर छ तर त्यत्तिकै जोखिमपूर्ण पनि छ। हाम्रो देश भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुख्खा लगायतका प्राकृतिक तथा मानवसिर्जित विपद्हरूको उच्च जोखिम रहेको मुलुक हो। विपद्का कारण जनधनको ठूलो क्षति हुनुको साथै विकासको गति अवरुद्ध हुँदै आएको तथ्य हामी सबैलाई ज्ञात छ।’
संविधान, राष्ट्रिय निति तथा कानुनहरूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यहरू सबैको समन्वय, सहकार्य र सहभागितामा सम्पादन हुने व्यवस्था गरेको उनले बताए। उनले थपे, ‘केन्द्रदेखि स्थानीय तहसम्म विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका थुप्रै संयन्त्रहरू क्रियाशील छन्। सुरक्षा निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, सञ्चारजगत, नागरिक समाज लगायतको समन्वयात्मक, सहकार्यत्मक र सहभागितात्मक क्रियाशीलताले विपद् व्यवस्थापनको कार्यहरुले सफलता पाउँदै गएका छन्।’
समुदायको अग्रसरताबिना विपद् न्यूनीकरण सम्भव नहुेको धारणा पनि उनले राखे।
प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार












प्रतिक्रिया