काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध दायर सुन तस्करी सम्बन्धी मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ । बहस प्रारम्भ हुनुअघि काठमाडौं जिल्ला अदालतमा उनको बयान लिइने तयारी गरिएको छ ।

सन् २०७९ पुस १० गते चिनियाँ नागरिक लि हासोङले इलेक्ट्रोनिक चुरोट ‘भेप’भित्र लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा महरा प्रतिवादीको रूपमा अदालतमा पेश भएका हुन् ।

advertisement

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान अनुसार, महरा चिनियाँ सुन तस्कर दाओजिन वाङसँग प्रत्यक्ष सम्पर्कमा रहेका कारण सो प्रकरणमा संलग्न ठहरिएका छन् । सीआईबीको अनुसन्धान र सरकारी वकिलको उपस्थितिमा लिइएको बयानमा महराले वाङसँग परिचय रहेको स्वीकार गरेका छन् ।

महराका अनुसार, वाङसँग उनको परिचय आफू सञ्चारमन्त्री भएका बेला भएको हो । ‘म सञ्चारमन्त्री हुँदा चिनियाँ नागरिक वाङ फलफूल लिएर मलाई बधाई दिन आएका थिए, त्यसै समयमा मैले उनलाई चिनेको हुँ,’ उनले बयानमा भनेका छन्, ‘उनी फलफूल व्यापारी भएको बताएपछि मैले पनि उनलाई सो रूपमा मात्र चिनेको हुँ ।’

तर, वाङले विद्युतीय सामग्रीको व्यापार गर्थे भन्ने जानकारी आफूलाई नभएको महराको दाबी छ । उनले भनेका छन्, ‘उनको व्यवसायमा मेरो कुनै पनि सरोकार वा लगानी छैन ।’

सीआईबीको निष्कर्ष अनुसार, लि हासोङले ल्याएको भेपभित्र लुकाइएको सुन वाङको समूहले पठाएको थियो । वाङ अहिले फरार अवस्थामा छन् । अनुसन्धानका क्रममा खुलासा भएको छ कि उक्त भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएपछि महराले तत्कालीन भन्सार प्रमुखलाई फोन गरी सामानबारे ‘हेर्न’ आग्रह गरेका थिए ।

बयानअनुसार महराले भनेका छन्, ‘वाङले मलाई आफ्नो ७३० थान भेप विमानस्थलमा रोकिएको जानकारी दिएपछि मैले भन्सार प्रमुखलाई फोन गरी सो सामान वैध वा अवैध के हो भनेर नियमानुसार हेर्न मात्र भनेको हुँ ।’

महराले उक्त सुन तस्करी प्रकरणमा आफ्नो प्रत्यक्ष संलग्नता र लगानी भएको आरोप अस्वीकार गरेका छन् । तर, सरकारी वकिलले उनलाई सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गत दोषी ठहर गर्दै ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो मागदाबी दर्ता गरेको छ ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com