काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नाममा सामाजिक सञ्जालमा प्रसारित भएको ‘पैसा जलेको भिडियो’ पूर्ण रूपमा फेक भएको बताएका छन्।
मंगलबार सानेपास्थित पार्टी कार्यालयमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा देउवाले उक्त भिडियोबारे स्पष्टिकरण दिँदै आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने प्रयास गरिएको बताए।
‘अहिले सामाजिक सञ्जालमा मेरो घरमा पैसा जलेको भनेर आएको भिडियो फेक हो,’ देउवाले भने, ‘अरू देशको भिडियो काटेर ल्याएर मेरोमा हालिदिएको रहेछ। यस्तो गरेर मेरो छवि र चरित्रमा आघात पुर्याउने काम भइरहेको छ।’
उनले उक्त विषयमा औपचारिक छानबिन हुनुपर्ने माग समेत गरेका छन्। देउवाले थपे, ‘फेक भिडियो बनाएर मेरो चरित्र हत्या गर्ने प्रयास गरिएको छ। यसको सत्यता पत्ता लगाउन तत्काल छानबिन होस्।’
पछिल्लो समय सामाजिक सञ्जालमा देउवाको निवाससँग जोडिएको दाबीसहित नोटहरू जलिरहेको दृश्य सार्वजनिक भएपछि त्यसबारे विभिन्न टिप्पणी भइरहेका छन्। देउवाले भने उक्त भिडियोको स्रोत र उद्देश्य दुवै शंकास्पद रहेको बताउँदै वास्तविकता छानबिनमार्फतै प्रष्ट हुने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार












प्रतिक्रिया