काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफूविरुद्ध योजनाबद्ध रूपमा गलत सूचना र भ्रम फैलाउने गतिविधि भइरहेको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले पछिल्ला दिनहरूमा मिडिया र सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गर्न खोजिएको बताएका छन् ।
शर्माका अनुसार, पार्टी निर्माण, पुनर्गठन, रुपान्तरण र शुद्धीकरणका विषयमा विगत दुई वर्षदेखि निरन्तर बहस चलाइरहेको हुँदा त्यसलाई कमजोर पार्ने उद्देश्यले भ्रामक प्रचार सुरु गरिएको हो ।
उनले भने, ‘हाल एउटा भ्रम फैलाइएको छ— मैले अरूको नाममा नयाँ पार्टी बनाइरहेको छु रे। यो पूर्ण रूपमा गलत र निराधार प्रचार हो। नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण र नयाँ ढंगले पार्टी निर्माणबारे बहस गरिरहेको मात्र हुँ।’
शर्माले ‘जेनजी आन्दोलन’ले परम्परागत राजनीतिक ढाँचालाई चुनौती दिएको बताउँदै, ‘अब नयाँ युग अनुसार पार्टी पुनःनिर्माण अनिवार्य छ,’ भने ।
उनका अनुसार आन्दोलनले नयाँ दिशा देखाइदिएको र अहिलेको नेतृत्वले त्यसलाई आत्मसात गरेर अघि बढ्नुपर्ने समय आएको छ ।
गलत प्रचार र व्यक्तिगत आक्षेपप्रति असन्तोष
शर्माले आफ्नो नाममा अमेरिका, विशेष गरी न्यूयोर्कमा सम्पत्ति रहेको भन्ने प्रचारलाई पनि असत्य ठहराएका छन् । ‘मेरो कुनै सम्पत्ति न्यूयोर्कमा छैन, ग्यास स्टेसनहरू त झन् हुँदैनन्,’ उनले स्पष्ट पारे ।
उनले थपे, ‘२०४६ सालदेखि आजसम्म सार्वजनिक पदमा बसेकाहरू सबैको सम्पत्ति छानबिन गरौं, सत्यतथ्य सार्वजनिक गरौं भनेर म स्वयंले संसद् र पार्टीभित्र आवाज उठाएको व्यक्ति हुँ।’
छोराछोरी यहीँ छन्, विदेशमा होइनन्
शर्माले आफ्ना छोराछोरी विदेशमा रहेको भनी फैलाइएको प्रचारलाई पनि खारेज गरेका छन् । ‘मेरा छोरा–छोरी यहीँ देशमा छन्, यहीँ श्रम गरेर जीवन बिताइरहेका छन्,’ उनले भने ।
उनका अनुसार, विदेशमा सन्तान राख्नेहरूले आफ्ना कमजोरी ढाकछोप गर्न अरूलाई दोष दिने प्रवृत्ति अपनाइरहेका छन् ।
नेता शर्माले आफूले सम्हालेका मन्त्रालयहरूमा इमानदार प्रयास गरेको दाबी समेत गरेका छन् । ‘शान्ति, ऊर्जा, गृह र अर्थ मन्त्रालय— चार वटा मन्त्रालयमा करिब ३७ महिना काम गर्ने अवसर पाएँ, ती सबै ठाउँमा राम्रो काम गर्न सकेँ भन्ने विश्वास छ,’ उनले भने ।
शर्माले अन्त्यमा भने, ‘माथि गरिएको दुष्प्रचारको खण्डन गर्दछु। राजनीतिक र वैचारिक बहसलाई गलत दिशामा मोड्ने कुनै पनि प्रयास सफल हुन सक्दैन।’
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार












प्रतिक्रिया