काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाको आजको उपस्थितिलाई सभापतिका रूपमा अन्तिम सहभागिता भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकअघि कार्यकर्ता र नेताहरूसँग बोल्दै महामन्त्री थापाले सभापति देउवाले आजको बैठकमा अन्तिमपटक सहभागी भएर सम्बोधन गरेको जानकारी दिएका हुन् ।

advertisement

उनका अनुसार देउवाले बाँकी रहेका जिम्मेवारी केन्द्रीय कार्यसमितिलाई हस्तान्तरण गर्दै सभापतिको रूपमा आफ्नो भूमिका समाप्त गरेका छन् । ‘पार्टी सभापतिले अबको कार्यभार केन्द्रीय कार्यसमितिलाई सुम्पेर जानुभएको छ,’ थापाले भने, ‘आजको बैठकमा उहाँको उपस्थिति सभापतिको हैसियतमा अन्तिम हो । उहाँले महत्वपूर्ण निर्देशन र घोषणा गर्नुभयो, त्यसको सम्मानस्वरूप बैठकले आज कुनै एजेन्डामा प्रवेश गरेन ।’

थापाले देउवाको सम्बोधनपछि कार्यबाहक सभापतिसँग परामर्श भएको र त्यसपछि बैठक टुंग्याउने निर्णय गरिएको पनि जानकारी दिए । उनका अनुसार, ‘सभापतिको रूपमा देउवाको अन्तिम सम्बोधन भएकाले त्यसलाई ऐतिहासिक सम्मान दिँदै आजको बैठक स्थगित गरिएको हो ।’

महामन्त्री थापाले विशेष महाधिवेशनको मागमा संकलित हस्ताक्षरहरू बुधबार दिउँसो ३ बजे औपचारिक रूपमा बुझाउने कार्यक्रम तय भएको पनि जानकारी दिए ।

उनका अनुसार देउवाले १५औं महाधिवेशन वैधानिक अवधिभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । ‘सभापतिसँगको छलफलमा उहाँले १५औं महाधिवेशन समयमै सम्पन्न गर्ने स्पष्ट धारणा राख्नुभएको छ,’ थापाले भने, ‘हामीले बुझ्ने समय भनेको २०८२ सालको मंसिर मसान्त हो, त्यहीभित्र महाधिवेशन हुनेछ।’

थापाले आगामी महाधिवेशन छोटो समयभित्र सम्पन्न गर्नुपर्ने भएकाले देशभरका नेता र कार्यकर्तामा संयम, एकता र सहकार्य आवश्यक रहेको पनि बताएका छन् ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com