पर्वत । कारागारबाट छुटेको केही घण्टामै आफ्नै श्रीमतीको हत्या गर्ने घटनाले पर्वत जिल्लालाई स्तब्ध बनाएको छ। मोदी गाउँपालिका–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले सोमबार राति आफ्नी ५२ वर्षीया श्रीमती सीता विकमाथि कुटपिट गरी हत्या गरेका हुन्।

प्रहरीका अनुसार जीतबहादुरले घर फर्किएलगत्तै सामान्य विवादपछि सीतामाथि आक्रमण गरेका थिए। भीषण कुटपिटपछि उनी बेहोस भएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेपछि सीतालाई तत्काल उद्धार गरी राति नै प्रदेश अस्पतालमा पुर्‍याइएको थियो। तर चिकित्सकहरूले उनलाई उपचारको क्रममा मृत घोषित गरे।

advertisement

पोस्टमार्टमका लागि पठाइएको शवमा टाउको र अनुहारमा गम्भीर चोटपटक लागेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी दिएकी सीताकी बुहारी शोभा विकका अनुसार कुटपिटको क्रममा घरमा भयावह स्थिति सिर्जना भएको थियो। उनले तत्काल देउपुर प्रहरी चौकीमा खबर गरेकी थिइन्। त्यसपछि देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पर्वतको संयुक्त टोलीले घटनास्थलमा पुगेर स्थानीयको सहयोगमा जीतबहादुरलाई नियन्त्रणमा लिएको थियो।

प्रहरी निरीक्षक सुदीप भण्डारीका अनुसार जीतबहादुरलाई स्थानीयवासीहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।

उनी वैवाहिक जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भई जेल सजाय काटिरहेका थिए। सोमबार नै धरौटीमा रिहा भएका उनले श्रीमती सीताले नै तिरेको धरौटीमार्फत जेलबाट छुटेका थिए। तर, घर फर्किएपछि राति खाना खाइसकेरै उनले श्रीमतीमाथि कुटपिट गरी हत्या गरेका हुन्।

विक परिवारका तीन छोरा रोजगारीका लागि विदेशमा रहेका छन् भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com