ढोरपाटन । जरा कुहिने रोगले धमाधम कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । तीन महिला अगाडिदेखि कागतीका बोट सुकेर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । सयौँ किसानका हजारौँ बोट कागती मर्दा लाखौँको क्षति हुन थालेको छ । सुरुमा बोट पहेँलो हुने र एक महिनामा सबै सुक्ने समस्या रहेको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले किसानको गुनासो आएपछि बारीमै पुगेर अध्ययन गर्दा जरा सुक्ने रोगले कागती मरिरहेको बताए । अहिले बोटमा लटरम्म फल रहेको हुँदा उपचार गर्न नसकिने भन्दै फल टिपेर सकेपछि जरा खनेर उपचार गरिने उहाँको भनाइ छ । फल नदिएका बोटको भने उपचार हुने अधिकारीले बताए।
उनले भने, “कागतीका बोट सुक्न थालेपछि धेरै ठाउँका किसानले हामीलाई फोन गरेर गुनासो गर्नुभयो, उहाँहरुको गुनासो आएपछि बारीमै पुगेर अध्ययन गर्दा जरा सुक्ने रोगले यो समस्या आएको पत्ता लगायौँ, यसका उपचारका विधि छन्, फल भएको बोटमा अहिले उपचार गर्न मिल्दैन, फल टिपेर सकेपछि जराको माटो खनेर उपचार गर्नुपर्छ, यो रोगले धेरै क्षति पु¥याएको छ ।”
निसीखोला गाउँपालिका–४ का किसान चक्रबहादुर रोकाले बारीमा लगाएका अधिकांश बोट मर्न थालेको बताए ।  टिप्ने बेलाको कागतीका दाना खस्नाका साथै बोट नै मरेको उनको भनाइ छ । अघिल्लो वर्ष लगाएका बिरुवासमेत मर्न थालेको रोकाले बताए । गाउँको पाखो जमिनलाई सदुपयोग गरी व्यावसायिक रुपमा कागतीखेती सुरु गरेका मगरलाई बोट मर्दा लाखौँको क्षति हुने चिन्ता छ ।
“बारीमा भएका कागतीका कुनै पनि बोट बाँकी छैनन्, सबै सुकेर मर्न लागेका छन्, कोहीका हाँगा सुकेका छन्, कोहीको पूरै बोट नै सुकेको छ, कृषि प्राविधिकलाई समस्याका बारेमा जानकारी त गराएका छौँ तर समाधान भएको छैन, बारीमा पुराना कागतीका रूख थिए, सुरुमा ती रूखका हाँगा मर्न थाले र पछि साना बोटमा पनि यो समस्या देखियो ।”
स्थानीय तमबहादुर खत्रीले १२० बोटमध्ये ९० भन्दा बढी बोटमा रोग देखिएको बताए । आफूले सुक्न थालेका सबै बोटका हाँगा काट्न सुरु गरेको उनको  भनाइ छ । अघिल्लो वर्ष पनि धुलोको प्रकोपले धेरै बोट कागती मरेको खत्रीले बताए । गाउँका सबै किसानको कागती बगानमा यो रोग देखिएको छ ।
जिल्लामा हाल ७९७ हेक्टर क्षेत्रफलमा कागतीजन्य फलफूलखेती हुँदै आएको छ । पछिल्लो समय कागतीखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This