काठमाडाैं । काठमाडौंको कीर्तिपुरमा सुरु भएको ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) दोस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट समुदायमा उल्लेखनीय चासो पाएको छ। विश्वभरका खेलसम्बन्धी वेबसाइट र प्रसारण प्लेटफर्महरूले नेपाली फ्रेन्चाइज क्रिकेटलाई प्रमुखतापूर्वक प्रस्तुत गरिरहेका छन्।
भारत र पाकिस्तानका लोकप्रिय क्रिकेट फ्यान–पोर्टलहरू तथा क्षेत्रीय मिडियाले एनपीएललाई प्रमुख स्थान दिएका छन्। भारतमा स्टार स्पोर्ट्स र ‘फनकोड डटकम’ सहितका प्लेटफर्ममार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ।
युनाइटेड किङडमस्थित ‘क्रिकेट वर्ल्ड डटकम’ले टिम संरचना, स्क्वाड र सहभागी विदेशी खेलाडीसहित विस्तृत रिपोर्ट प्रकाशित गरेको छ। फाफ डु प्लेसिस, जेसन रोय र इम्रान ताहिरजस्ता चिनिएका खेलाडीको सहभागितालाई यसले नेपालमा फ्रेन्चाइज क्रिकेटको उचाइ बढाएको बताएको छ।
‘बिबिसी नेपाली सेवा’ले उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टस्लाई पराजित गरेको र दर्शकको उच्च आकर्षणबारे प्रसारण गरेको छ। त्यस्तै ‘विस्डेन डटकम’ले यसपटकको प्रसारण मोडेलमा देखिएको परिवर्तनलाई नेपाली क्रिकेटको बढ्दो क्षेत्रीय प्रभावका सङ्केतका रूपमा व्याख्या गरेको छ।
प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार












प्रतिक्रिया