काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधनको मागसहित व्यापक आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई २८ बुँदे मागपत्र बुझाउने तयारीसमेत गरेको जनाएको छ। मंसिर १० गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइने जसपा नेपालका महासचिव रामकुमार शर्माले जानकारी दिए।

दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले संगठन सुदृढीकरण, आगामी निर्वाचनका तयारी र चरणबद्ध संघर्षका कार्यक्रम पारित गरेको महासचिव शर्माले बताए। उनका अनुसार मंसिर ११ देखि १५ सम्म प्रत्येक संसदीय क्षेत्रमा विरोध प्रदर्शन, कोणसभा र जनपरिचालन सञ्चालन गरिनेछ। त्यसपछि मंसिर १९ देखि २१ सम्म सबै जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम हुनेछ।

advertisement

पार्टीले मंसिर २७ देखि पुस ४ सम्म जिल्लास्तरीय विरोधसभा र जनसभा आयोजना गर्ने तथा प्रदेशस्तरीय विरोध कार्यक्रम पनि तय गरेको छ। पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगन्ज, पुस १७ गते नेपालगन्ज र पुस १८ गते भैरहवामा ठूलो जनसभाको योजना बनाइएको उनले बताए।

महासचिव शर्माले संविधान निर्माण प्रक्रियामा सुरुदेखि नै आफ्ना गम्भीर आपत्तिहरू रहेको उल्लेख गर्दै भने, ‘संविधान पुनर्लेखनका लागि हाम्रो आवाज सुरुदेखिनै स्पष्ट थियो। तर विगतका कुनै पनि सरकारले ध्यान दिएन। अब वर्तमान सरकारले पनि संशोधन वा पुनर्लेखनको प्रक्रिया थालोस भन्ने हाम्रो प्रष्ट माग हो। यही लक्ष्यका लागि आन्दोलनको कार्यक्रम अघि सारेका छौँ।’

जसपाले प्रत्यक्ष कार्यकारी राष्ट्रपति व्यवस्था, पूर्ण समावेशी संसद्, स्वायत्त र अधिकारसम्पन्न प्रदेश व्यवस्था, समान जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण तथा राज्य पुनर्संरचना जस्ता विषय संविधानमा अनिवार्यरूपमा संशोधन हुनुपर्ने माग अघि सारेको छ।

प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com