काठमाडौं । प्रगतिशील अभियानका संयोजक जनार्दन शर्माले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अवसरवादी नेतृत्वकै कारण माओवादी आन्दोलन कमजोर भएको र अन्ततः पार्टी विघटनको अवस्थामा पुगेको आरोप लगाएका छन्।
शनिबार राजधानीको त्रिपुरेश्वरमा आयोजित राष्ट्रिय भेलामा बोल्दै शर्माले पार्टी निर्माण र सुधारका विषयमा दुई वर्षसम्म निरन्तर सुझाव दिँदै आए पनि प्रचण्डले कुनै ध्यान नदिएको बताए। उनले भने, ‘पार्टीभित्रको समस्याहरू समयमै समाधान भएको भए अहिलेको ‘जेनजी विद्रोह’ जन्मिनै नपर्ने थियो।’
शर्माले प्रचण्डसँगको अन्तिम भेटमा स्पष्ट रूपमा भनेको बताए, ‘आजसम्म तपाईं मेरो नेता हुनुहुन्थ्यो, अब होइन।’ तर, प्रचण्डले बाहिर ‘जनार्दनले आज पनि मेरो नेता हो, भोलि पनि हो’ भनेर प्रचार गरेकोमा आफू असन्तुष्ट रहेको पनि उनले बताए।
उहाँले प्रचण्डमाथि लगातार ‘छलछामको राजनीति’ गर्ने आरोप लगाउँदै माओवादी केन्द्र पुराना पार्टीहरूसँग अवसरवादमा फस्दा जनता निराश बनेको र त्यसकै परिणामस्वरूप ‘जेनजी विद्रोह’ जन्मेको बताए। शर्मा अनुसार, नेतृत्व परिवर्तनको सम्भावना र महाधिवेशनपछि पार्टी सुदृढ हुने डरले प्रचण्डले एकताको नाटक गर्दै पद टिकाइराख्न खोजेको थियो।
शर्माले प्रचण्डको अवसरवादी चरित्र र गलत निर्णयका कारण माओवादी पार्टी विघटनको अवस्थासम्म पुगेको निष्कर्ष प्रस्तुत गर्दै आफूहरूको नयाँ पार्टी बामपन्थी सिद्धान्तमा आधारित हुने जानकारी दिए। उनले पार्टी सामूहिक नेतृत्व प्रणाली अपनाउने र नेपाली विशेषताको मार्क्सवादी दृष्टिकोण तथा द्वन्द्वात्मक भौतिकवाद अंगाल्ने पनि बताए।
भेलामा नयाँ पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय बनाउने विषयमा छलफल भएको र त्यसपछि सङ्गठन निर्माण अभियान सुरु गर्ने योजना रहेको उनले जानकारी दिए। शर्मा नेतृत्वको प्रगतिशील अभियान र नेसपा नयाँ शक्ति समूह आइतबार एक हुने तयारीमा रहेको छ।
प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार













प्रतिक्रिया