काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र विशेष महाधिवेशन आहिलेकै अवस्थामा अनिवार्य र निर्विकल्प बनेको स्पष्ट गरेका छन्।
केन्द्रीय समिति बैठक सकिएलगत्तै पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै थापाले भने, ‘नियमित महाधिवेशनका लागि मैले कार्यतालिकासहित प्रस्ताव राखेँ, तर नेताहरूले सम्भव छैन भनेपछि अब विशेष महाधिवेशन बाहेकको विकल्प छैन।’
थापाले कांग्रेसले आगामी चुनावमा जाने निर्णय गरिसकेको उल्लेख गर्दै भने, ‘चुनावमा जाने उत्तम तयारी भनेको जे दिन विशेष महाधिवेशन गर्न उपयुक्त हुन्छ, त्यसै दिन पार्टीले विशेष महाधिवेशन गर्नुपर्छ।’
यसअघि केन्द्रीय समितिमा बोल्दै थापाले नियमित महाधिवेशनका लागि नेतृत्व तयार नदेखिएमा आगामी मंसिर २७ गते विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए।
उनले भने, ‘पुस मसान्तसम्म आवधिक निर्वाचन नगर्ने, विशेष महाधिवेशन पनि नगर्ने भन्ने अधिकार कसैसँग छैन। विधानले त्यसको स्पष्ट व्यवस्था गरेको छ।’
महामन्त्री थापाले कांग्रेस अहिले दुईवटा विकल्पमै सीमित रहेको बताए- ‘या त पुस मसान्तभित्र नियमित महाधिवेशन गर्ने निर्णय होस्, अन्यथा पार्टी विशेष महाधिवेशनतिर जानैपर्छ। नेताहरूले कार्यतालिका होइन, महाधिवेशन नै खोजेका हुन्।’
प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार













प्रतिक्रिया