काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको राजनीतिक यात्रामा परम्परागत कम्युनिस्ट पार्टीहरू अघि बढ्न नसक्ने स्पष्ट बताएका छन्। आइतबार राष्ट्रिय सभा गृहमा आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा सभामा बोल्दै उनले कम्युनिस्ट राजनीतिले आफ्नो ऐतिहासिक जिम्मेवारी पूरा गरिसकेकाले आफू नयाँ वैकल्पिक मार्गमा लागेको बताए।

भट्टराईले भने, ‘हामी माओवादी छोडेर हिँडेका होइनौँ, माओवादीको २००७ सालदेखि २०७२ सालसम्मको ऐतिहासिक कार्यभार पूरा भएको हो। अब देशमा केवल पार्टी र नेताको फेरबदलले मात्रै परिवर्तन सम्भव छैन। राजनीतिक संरचनै पुनर्संरचना गर्नुपर्छ।’

advertisement

उनका अनुसार नयाँ पार्टीको मुख्य आधार युवा नेतृत्व र जेनजी पुस्ताको चेतनासँगको सहकार्य हुनेछ। ‘युवाले नेतृत्व लिएनन् भने फेरि पुरानै पार्टीका ढोका खुल्छन्। दुई–चार सिटका लागि नयाँ पसल खोल्न हामी आएका होइनौँ,’ उनले स्पष्ट पारे।

भट्टराईले हालका कम्युनिस्ट दलहरूभित्र “चोरी खाने र ठगी प्रवृत्ति” बढ्दै गएको आरोप समेत लगाए। कम्युनिस्टले समाजवादको नाममा जनतालाई भ्रम मात्र बेचिएको दाबी गर्दै उनले थपे, ‘कम्युनिस्ट भनेर कमाउनिस्ट बन्ने प्रचलन चलेको छ। अर्कोतिर उदारवादी धारको नेतृत्व कांग्रेस र मध्यपन्थी शक्तिले गरेका छन्। यी दुवैको विकल्पका रूपमा हामीले प्रगतिशील लोकतान्त्रिक पार्टी अघि सारेका हौँ।’

उनका अनुसार ‘प्रगतिशील’ शब्द कुनै नारामात्र नभई वास्तविक परिवर्तनको गुदी हो।

अन्त्यमा, देश जटिल संकटको चरणमा रहेको उल्लेख गर्दै भट्टराईले नयाँ धार, वैकल्पिक सोच र परिवर्तन चाहने सबै शक्ति एक ठाउँमा आएर हातेमालो गर्नुपर्ने आह्वान गरे।

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com