विराटनगर । नेसनल भोलिन्टियर्स फोर्सले नेकपा एमालेका नेतामाथि भएका शृङ्खलाबद्ध आक्रमण र धम्कीका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

फोर्सले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेको छ कि अराजक गतिविधिमा संलग्नहरूलाई सरकारले तत्काल कारबाही नगरे परिस्थितिजन्य प्रतिरोधमा उत्रिनुपर्ने स्थिति सिर्जना हुन सक्छ।

advertisement

फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा पछिल्लो समय ‘जेनजी’ आन्दोलनको आवरणमा एमाले नेताहरूलाई निशाना बनाइएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा आइतबार विराटनगर विमानस्थलबाट बाहिरिँदै गर्दा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि गाडीमा बेलुन प्रहार भएको घटनाको विवरण उल्लेख गरिएको छ। यस घटनामा संलग्न नेपाल विद्यार्थी सङ्घ (शेखर समूह) मोरङ क्याम्पस इकाई सभापति सन्जोग गौतम रहेको फोर्सले जनाएको छ। पक्राउ परेका गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको र आवश्यक कारबाही गर्न नेपाली कांग्रेसलाई आग्रह गरिएको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, ‘जेनजी’ आन्दोलनका योजनाकार भनिएका सुदन गुरुङ लगायतको समूहले एमाले नेता तथा पूर्वमन्त्री किसान श्रेष्ठको जितपुर सिमरा–४, औराहास्थित घरमा पुगेर परिवारका सदस्य र कामदारमाथि धम्की दिएको घटनाप्रति पनि फोर्सले गम्भीर आपत्ति जनाएको छ। श्रेष्ठ काठमाडौँमा रहेकाले घरमा पुगेर धम्की दिइएको थियो।

गत मंसिर ३ गते राष्ट्रिय युवासंघ बाराको कार्यक्रममा जाँदै गर्दा एमाले महासचिव शंकर पोखरेललाई सिमरा विमानस्थलमा अवरोध पुर्‍याउन खोज्ने प्रयासको पनि फोर्सले विरोध गरेको छ। विज्ञप्तिमा भनिएको छ कि विमानस्थलको गेट भत्काउने र अराजकता फैलाउने कार्यमा संलग्न मुख्य योजनाकार सम्राट उपाध्याय खुलेआम हिँडिरहेको भए पनि प्रहरीले उल्टै एमालेका वडाध्यक्ष र युवा सङ्घका नेताहरूलाई पक्राउ गरी झुटा मुद्दा लगाएको फोर्सले घोर निन्दा गरेको छ।

फोर्सले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले अपराधीलाई कारबाही गर्नुको साटो संरक्षण गरेको आरोप लगाउँदै निर्दोष कार्यकर्ताहरूलाई तुरुन्त रिहा गर्न र सुदन गुरुङ तथा सम्राट उपाध्याय लगायतलाई कारबाही गर्न माग गरेको छ। विज्ञप्तिमा स्पष्ट गरिएको छ, ‘सरकारले घटनाको संवेदनशीलता नबुझ्ने र अपराधीलाई उन्मुक्ति दिने हो भने परिस्थितिजन्य प्रतिरोधको जिम्मेवारी सरकारले नै लिनुपर्नेछ।’

देश, जनता र पार्टी पङ्क्तिको सुरक्षा सुनिश्चित गर्न ‘जनताको सुरक्षा जनता मार्फत’ भन्ने उद्देश्यसहित आफ्नो संगठन स्थापना गरिएको भन्दै फोर्सले अब चुप लागेर बस्ने अवस्था नरहेको समेत जनाएको छ।

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com