काठमाडौं । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरू गर्दै देशलाई भ्रष्टाचार, पक्षपात र कुशासनको दलदलमा डुबाएको आरोप लगाउँदै सरकारलाई सार्वजनिक रूपमा बहिष्कार गर्न आग्रह गरेको छ।

सोमबार जारी गरेको विज्ञप्तिमा मुभमेन्टले सरकारका शीर्ष व्यक्तिहरूमै अनियमितता र स्वार्थी चलखेल बढेको भन्दै कडा आपत्ति जनाएको हो। विज्ञप्तिअनुसार ऊर्जामन्त्री कुलमान घिसिङले ४३ करोड रुपैयाँको आर्थिक नोक्सानी पुर्‍याएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मालाई गैरकानुनी कर छुट दिएको, महान्यायाधिवक्ता सविता बराल भण्डारी किशोरीहरूको डिम्ब बिक्री प्रकरणमा संलग्न रहेको तथा प्रधानमन्त्रीका स्वकीय सचिवले आफन्तलाई पदस्थापन गरेर नातावादलाई बढावा दिएको आरोप लगाइएको छ।

advertisement

यसबाहेक, गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्ना काकालाई डिआइजी बनाउन सशस्त्र प्रहरीमा नयाँ दरबन्दी थपेर “संगठित दुराचार”मा संलग्न भएको मुभमेन्टको आरोप छ।

जेनजी मुभमेन्टले यी गतिविधिहरूले विद्रोहका आदर्श, सुशासनका लागि प्राण त्याग गरेका सहिद–घाइते तथा समग्र नेपाली जनताप्रति गम्भीर अनादर भएको बताउँदै सरकार नैतिक आधार र जनविश्वास दुवै गुमाइसकेको दाबी गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री सुशीला कार्कीले तत्काल राजीनामा दिई जनआकांक्षा र जेनजी विद्रोहको भावना माथि कुठराघात नगर्न आग्रह गर्दछौँ।’

आगामी पंक्तिमा मुभमेन्टले थप लेखेको छ, ‘सत्ताको दुरुपयोग र कु–व्यवहारमा डुबेको सरकारले देशलाई सही दिशामा लैजान सक्दैन। सुशीला कार्की र उनको मन्त्रिपरिषदलाई सार्वजनिक रूपमा बहिष्कार गर्दै नागरिक अवज्ञामा उभिन सम्पूर्ण देशवासीलाई आह्वान गर्दछौँ।’

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com