काठमाडौं । नेकपा एमालेले असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनको विरोध गर्दै सर्वोच्च अदालतमा पुनर्स्थापनाको मागसहित रिट निवेदन दायर गरेको छ। दर्ता प्रक्रिया भने अझै सम्पन्न भएको छैन।
विघटित प्रतिनिधिसभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाले रिट निवेदन सर्वोच्चमा पेश गरिएको जानकारी दिए। ‘हामीले असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न माग गर्दै रिट दर्ता प्रक्रिया अघि बढाएका छौँ,’ बर्तौलाले भने।
पछिल्लो राजनीतिक घटनाक्रममा २३ र २४ भदौका जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हट्न बाध्य बनाइएको थियो। ओलीको राजीनामापछि आन्दोलनकारी पक्षको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले २७ भदौमा सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए।
नियुक्तिपछि प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको थियो। सोही समयदेखि एमालेले उक्त निर्णयलाई निरन्तर असंवैधानिक भन्दै पुनर्स्थापनाको पक्षमा राजनीतिक तथा कानुनी संघर्ष जारी राखेको छ।
प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार













प्रतिक्रिया