जनकपुरधाम । नाबालिग बलात्कार प्रकरणमा संलग्न भएको आरोपमा एमाले नेता शिवशंकर साह ‘हिरा’लाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई भारतको बिहार राज्य अन्तर्गत सीतामढी जिल्लाबाट समन्वयमार्फत नियन्त्रणमा लिएर मंगलबार राति जनकपुरधाम ल्याइएको हो।

प्रहरीका अनुसार पीडित पक्षले दिएको उजुरीका आधारमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि साह भारततर्फ भागेका थिए। फरार भएपछि प्रहरीको निगरानी कडाइ गर्दै भारतीय सुरक्षातर्फका निकायसँग समन्वय गरी सीतामढीबाट पक्राउ गरिएको बताइएको छ।

advertisement

यससँगै, घटनालाई मिलापत्रतर्फ लैजान खोज्दै पीडित परिवारबाट रकम लिएर दबाब सिर्जना गरेको आरोपका आधारमा नाबालिगकी मामासमेत रहेका सञ्जय महासेठलाई पनि प्रहरीले जनकपुरधामबाट नियन्त्रणमा लिएको छ। धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार महासेठले कानुनी प्रक्रिया लत्याउँदै घटना सेटेलमेन्ट गर्न खोजेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

गत कार्तिक २२ गते जनकपुरधामको जानकी चोकस्थित एक होटेलमा १३ वर्ष ४ महिनाकी बालिकालाई दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरिएको आरोप छ। यस घटनामा संलग्नताको आधारमा जनकपुरधाम उपमहानगरपालिका–१० का स्व. किशोरीलाल साहका छोरा मनोजकुमार साहलाई यसअघि नै काठमाडौँबाट पक्राउ गरी धनुषा ल्याइएको थियो। मनोज साहको बयानका आधारमा हिरा साहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो, जसमा दुई जना अझै फरार छन्।

हिरा साह पछिल्ला स्थानीय तह चुनावमा नेकपा एमालेको मेयरका उम्मेदवार थिए। उनी जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष तथा मधेश प्रदेश उद्योग वाणिज्य संघका संस्थापक अध्यक्षसमेत रहेका छन्। साथै, एमालेको ११औं महाधिवेशनका लागि धनुषा–३ बाट प्रतिनिधि पनि चयन भएका थिए।

जिल्ला प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवरको नेतृत्वमा अनुसन्धान तीव्र गतिमा अघि बढाइएकाे छ। केही राजनीतिक दबाब आए पनि जघन्य अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याइने प्रहरीले स्पष्ट पारेको छ।

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com