काठमाडौं । हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले आफू र परिवार अमेरिका भागेर गएको भन्ने समाचारहरू भ्रामक भएको स्पष्ट गरेका छन्। शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘बकपत्र’ शीर्षककासहित लामो स्टाटस लेख्दै उनले केही मिडियामा आएको दाबीको खण्डन गरेका हुन्।
धुर्मुसका अनुसार दुई वर्षअघि नै उनले ‘एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड’ पाएका थिए। अहिले उनी छोरीको खुट्टासम्बन्धी स्वास्थ्य जाँच र उपचारका लागि मात्र अमेरिका आएको स्पष्ट पार्छन्।
उनले लेखेका छन्, ‘नेपालमा कलाकारितामात्र गरेर बाँच्न सकिने अवस्था नभएपछि तीन वर्षअघि नै हामीले अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड’ का लागि नेपालमै बसेर आवेदन दिएका थियौं। यो विभिन्न क्षेत्रमा असाधारण क्षमता देखाएका व्यक्तिलाई दिइने स्थायी बसोबास अनुमति हो।’
धुर्मुसका अनुसार यो कार्ड पाएपछि कम आम्दानी भएका परिवारका बालबालिकाले ‘मेडिकेड’ मार्फत निःशुल्क स्वास्थ्य सेवा पाउने सुविधा हुन्छ। ‘गत वर्ष कुन्जनाको गर्भमा रहेको हाम्रो दोस्रो बच्चा अत्यधिक तनावकै कारण गुमेको थियो। एक मात्र सन्तानका लागि कुनै जोखिम लिन चाहेनौं,’ उनले उल्लेख गरेका छन्।
दुई वर्षपछि भिसा पाएको दिन आफूहरू खुशी हुन नसकेको बताउँदै उनी थप्छन्, ‘यो हाम्रो इच्छा होइन, परिस्थितिको दास भएर लिनु परेको निर्णय थियो। यहाँ आउनका लागि कुन्जनाले आफ्ना सबै गरगहना समेत बेच्नुपर्यो।’
धुर्मुसले छोरीको उपचार पूरा भएपछि परिवारसहित नेपाल फर्कने दाबी गरे। ‘हामी भागेका होइनौं। बाध्यताले अमेरिका आएका हौं। उपचार सकिएपछि नेपाल फर्किन्छौँ र पूर्ववत् कलाकारितामै रम्न चाहन्छौं,’ लेखमा उल्लेख छ।
धुर्मुसले आफूहरूमाथि लागेको आरोप अन्यायपूर्ण रहेको बताए। भरतपुर महानगरले जग्गा उपलब्ध गराएपछि जनताको आग्रह र नेताहरूको प्रोत्साहनमा रंगशाला निर्माणमा जुटेको स्मरण गर्दै उनले भने, ‘अख्तियारले समेत क्लिन चिट दिएको काममा हामीलाई ठग भन्नु पीडादायी छ।’
त्यो परियोजनामा १८ करोड रुपैयाँभन्दा बढीको दायित्व अझै टुंगो नलागेको उल्लेख गर्दै उनले राज्यको दोहोरो चरित्रप्रति टिप्पणी गरे—’सम्पत्ति भने राज्यले लिन्छ, तर दायित्व मान्दैन। यही विडम्बना हो।’
उनका अनुसार केन्द्र सरकारले उपलब्ध गराउने भनिएको अनुदान पटक–पटक प्रक्रियागत त्रुटिका कारण फ्रिज भएर मन्त्रालयमै फर्किने गरेको छ। महानगरलाई स्वामित्व हस्तान्तरण गर्दा एक महिनाभित्र दायित्व टुंग्याउने भनिए पनि आजसम्म पूरा नभएको पनि उनले बताए।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया