रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचक नजिक ट्रक र कार एक–अर्कालाई ओभरटेक गर्ने क्रममा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरका अनुसार बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार बिहान करिब ७ः५० बजे ठोक्किएका हुन्। दुर्घटनामा कारमा सवार करीब ८०–९० वर्ष उमेरका बारा, निजगढका एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मृतकको पहिचान आफन्तहरू घटनास्थल आइपुगेपछि पुष्टि गर्ने प्रहरीले जनाएको छ।
घाइतेमध्ये कार चालक बारा, निजगढका ३० वर्षीय दिनेश थपलियाको टाउको र अनुहारमा चोट लागेको छ। चन्द्रपुर–६ का २० वर्षीय डोरमणि सापकोटालाई बाहिरी चोट नदेखिए पनि छातीमा दुखाइ रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रक चालक मकवानपुर, हेटौँडा–७ का ५३ वर्षीय श्यामबहादुर तितुङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया